डा.मिनेन्द्र रिजालले रक्षामन्त्री पदबाट राजीनामा दिएका छन् । आज (बिहीबार) रिजालले सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो राजीनामा बुझाएका हुन् ।



काँग्रेस महामन्त्री पदमा पराजित भएका रिजालले आज मतगणनामा प्रारम्भिक नतिजा अनुसार पराजयतर्फ उन्मुख भएकाले राजीनामा दिने बताएका थिए । उनले आज एक ट्विट गर्दै राजीनामा दिने निर्णय गरेका थिए ।
‘नेपाली काङ्ग्रेसको चौधौं महाधिवेशनमा मैले प्रतिस्पर्धा गरेको महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको छु। अन्तिम परिणाम प्राप्त हुनासाथ सम्माननीय प्रधानमन्त्रीसमक्ष राजीनामा पेश गर्नेछु’ उनले ट्विटरमा लेखेका थिए ।
रिजाल डा. शेखर कोइराला प्यानलबाट उम्मेदवार बनेका थिए । रिजालले ८०९ मत प्राप्त गर्दै पराजित भएका हुन् । त्यस्तै उनले महामन्त्रीमा विजयी भएका गगन थापा र विश्वप्रकाश शर्मालाई बधाई तथा शुभकामना दिएका छन् ।