काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट सिंगो राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन कमल थापाको राप्रपा नेपालमा समाहित भएको छ । राप्रमसं केन्द्रीय कार्य समितिको बैठकले सिंगो संगठन नै राप्रपा परित्याग गरी राप्रपा नेपालमा समाहित भएको निर्णय भएको संगठनकी अध्यक्ष ममता राईले बताइन् ।
पार्टीको महाअधिवेशनपछि राप्रपाको नेतृत्वले भातृ संगठनहरूलाई हेर्ने दृष्टिकोणमा फरकपन आएकाले आफूहरूले राप्रपा नेपाल रोज्नुपरेको उनको भनाइ छ ।
यस्तै राप्रपाको भ्रातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन (राप्रविसं) पनि राप्रपा नेपालमा समाहित भएको छ । राप्रविसंका कार्यवाहक अध्यक्ष शशि भण्डारीले राप्रविसं थापा नेतृत्वको राप्रपा नेपालमा समाहित भएको जानकारी दिए ।
राप्रविसंका जिल्ला समिति, क्याम्पस इकाइ समितिहरूसमेत क्रमिक रुपमा राप्रपा नेपालमा समाहित हुने राप्रविसंमा महासचिव जनक फडेराले दाबी गरे ।यसअघि राप्रपाको भातृ संगठन पूर्वप्रहरी परिषद् पनि थापा अध्यक्ष रहेको राप्रपा नेपालमा समाहित भइसकेको छ ।