हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

यूएईलाई हराउँदै नेपालकाे एकदिवसीय मान्यता कायम

यूएई विरुद्धको खेलमा कीर्तिमानी जित हासिल गरेसँगै नेपालले एकदिवसीय वरियता कायम राखेको छ।

Advertisement

आईसीसी विश्वकप लिग-२ अन्तर्गत आइतबार भएको खेलमा नेपालले यूएईलाई १७७ रनले पराजित गरेको हो। रनका आधारमा नेपालको यो सबैभन्दा फराकिलो जित हो। यसअघि नेपालले पपुवा न्युगिनीलाई १५१ रनले पराजित गरेको थियो।

Advertisement

यो जितसँगै नेपाल ३६ अंक जोडेर चौथो स्थानमा उक्लिएको छ। यसअघि चौथो स्थानमा रहेको अमेरिका पाँचौ स्थानमा झरेको छ। अमेरिकाको ३५ अंक छ।

लिग-२ का शीर्ष पाँच टोलीको एकदिवसीय वरियता कायम रहनेछ। स्कटल्यान्ड ५० अंक, ओमन ४४ अंक र नामिबिया ३९ अंकसहित शीर्ष तीन स्थानमा छन्।

पाँचौ स्थानका लागि अमेरिका र यूएई प्रतिस्पर्धामा छन्। अमेरिकाले सबै खेल खेलिसक्दा ३५ अंक जोडेको छ भने यूएईको ३४ मध्ये १४ खेलमा जित हासिल गर्दै ३१ अंक छ। यूएईका दुई खेल बाँकी छन्।

आजको खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा यूएई २२.५ ओभरमा सबै विकेट गुमाएर ७१ रनमै समेटिएको हो। यूएईका लागि अफजल खानले २९, अस्वन्थ वल्थापाले १४ र कार्थिक मयेप्पनले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

यूएईलाई सस्तैमा समेट्न ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गरे। उनले ७.५ ओभरमा २० रन खर्चेर पाँच विकेट लिए। त्यस्तै, सन्दीप लामिछानेले दुई, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले एक-एक विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर २४८ रन बनाएको थियो। नेपालका लागि रोहित पौडेलले ७७, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४, भीम सार्कीले २९, कुशल मल्लले नौ र कुशल भुर्तेलले आठ रन बनाए। यूएईका लागि अफजल खान, जवार फरिद,जहूर खान र रोहन मुस्तफाले दुई-दुई, आर्यन लक्रा र जुनैद सिद्दिकीले एक-एक विकेट लिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)