नेकपा माओवादी केन्द्र कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोमाथि आक्रमणको प्रयास भएको छ । उनीमाथि ताप्लेजुङमा आक्रमणको प्रयास भएको हो । प्रदेशको नाम कोशी राखेको भन्दै असन्तुष्ट समूहले मंगलबार ताप्लेजुङ पुगेका आङ्बोमाथि आक्रमणको प्रयास गरेको थियो । आङ्बो चढेको गाडीमा आक्रमण हुँदा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बूका अनुसार फुङलिङ बजार आउने क्रममा आङ्बो सवार गाडीमाथि आक्रमण भएको हो । बजारभन्दा ७–८ किलोमिटर तल गाडीमाथि ढुङ्गा प्रहार भएको प्रहरीले जनाएको छ । आक्रमणकारीको पहिचान नभए पनि घटनाको बिषयमा अनुषन्धान जारी रहेको डिएसपी लिम्बूले बताए ।

प्रदेशको नाम कोशी राखेपछि पहिचानको आधारमा नाम राख्नुपर्ने माग गर्दै आएको समूह आन्दोलनमा छ । सोमबार एक समूहले ओखलढुंगामा मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमणको प्रयास गरेको थियो ।