बिचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

फागु पूर्णिमा र यसको महत्व

अघिल्लो बर्ष २०८० को बसन्त पञ्चमी “श्रीपञ्चमी” को महिमा विषयको लेख लेख्दा धर्मशास्त्र अनुसार हामीले मनाउने पर्व फागु पूर्णिमा कसरी आउँछ भनि लेखेको लेखको छोटो अंश यो बर्ष २०८१ मा पनि याहाँ रखेको छु।

Advertisement

“कुनै पनि ऋतुको आगमन भन्दा अगाडिका चालीस ( ४० ) दिनलाई त्यस ऋतुको गर्भकाल मानिन्छ। यही मान्यता अनुसार रङ्ग र अविर एक अर्कामा दलेर मनाउने पर्व भनेर चिनिने फागु पुर्णिमा अर्थात होली पर्व बसन्त पञ्चमीको ठीक चालीस दिन पछि आउदैछ। यसैले वसन्त पञ्चमी बाट वसन्त ऋतुको गर्भकाल मानिने हुँदा हाम्रो समाजले माघ शुक्ल पञ्चमी लाई ऋषिपञ्चमी अर्थात बसन्त पञ्चमीको रूपमा मनाउने गरेको कुरा धर्मशास्त्रमा पाईन्छ। फागु पुर्णिमा अर्थात रङहरूको पर्व होली यस वर्ष २०८१ साल चैत १ गते शुक्रबारका दिन पर्न गएको छ।”

Advertisement

यो वर्ष २०८१ सालको फागुन शुक्ल चतुर्दशी फागुन २९ गते विहिबारका दिन हिमाली र पहाडी लगायतका ५६ जिल्लामा मनाईन्छ भने चैत-१ गते शुक्रबारका दिन तराईका २१ जिल्लामा मनाइन्छ। उक्त दिन नेपाल सरकारले बिदा दिने गरेकोछ। तराईका देहाएका जिल्लामा:- झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, बर्धघाट सुस्ता पूर्व नवलपरासी, बर्धघाट सुस्ता पश्चिम, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, र कञ्चनपुर पर्दछन।

फागु पूर्णिमा वा होली वसन्त ऋतुको सुरुवाती चरणमा मनाइने पर्व हो। हामी खश पर्वतेहरुले हाम्रो पात्रो अनुसार चतुर्दशी तिथिमा पूर्णिमा तिथि मिसिदा ( पूर्व विद्धा मा ) यो पर्व मनाउछौ भने तराइ क्षेत्रमा होलिका दहन गरिने भएकोले पूर्णिमा तिथिमा परेवा तिथि मिसिएपछि (परा विद्धा मा ) यो पर्व मनाइने चलन छ। पहिलो दिन सन्ध्याकालमा होलीका दहन गरिन्छ भने दोश्रो दिन अवीर, थरिथरिका रंग एक अर्कालाई लाएर अवीर र रंग खेल्ने काम गरिन्छ। नेपाल अधिराज्यको  तराइ  क्षेत्रमा यो चाड मुख्यतः देवर भाउजु बीच रंग खेली मनाइने चाड भए पनि साथीभाई बीच आपसी मनोमालिन्य हटाउन खेल्ने चलन परापूर्व कालदेखि चलि आएको पाइन्छ।

नेपाल कला र सस्कृतिले भरिएको देश हो। जहाँ विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ। ति मध्ये होली पनि एक हो। जसले नेपाली सस्कृतिलाई झल्काउने गर्दछ। फागु पुर्णिमाको रुपमा पनि लिने गरिएको पाईन्छ। होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूर्णिमा अर्थात होली पूर्णिमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्का माथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउछन्। होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ। राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ। भनिन्छ कि होलीको दिन “पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक अर्कासित मिल्छन्” यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

त्रेता यूगमा भगवान विष्णुका परम भक्त प्रल्हादसंग होलीलाई जोडेर हेरिन्छ, हिरण्यकश्यपुका पुत्र प्रल्हलाद लाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनि आँफै आगोमा भष्म भएको दिनका रुपमा होलीको पर्व पर्दापण भएको मानिन्छ। विष्णुको नरसिंह अवतार को वर्णन अनि उत्पती पनि होली अनि प्रल्हाद घटना क्रम सँग समबन्धीत छ । नारद पुराण र भविष्य पुराण, भगवान श्री कृष्णलाई दुध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ, यसरी पुतनाको बध भएपछी गोपालवासीहरुले जयजयकार गर्दै आजको दिनको रंगीन उत्सव मनाएको विवरण पनि इतिहासले वयान गर्दछ।

नीलो रंगले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रंग भगवान श्री कृष्णको प्रिय रगं हो । शौभाग्यको सुचक रातो रगंको प्रयोग पनि आज ब्यापक गरिन्छ, अनुहार अनि शरीर भरि लागेका रगंहरु धुँदा हातैभरि रगंहरु हुने गर्दछ, खललल बगेका पानीका धारा या नुहाउने ईनार अनि पोखरीका डिलहरु आज रंगिन हुनेगर्दछन् । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछायामा होलीका गीतहरु गाँउदै रातभरि विभिन्न कार्यक्रम आयोजना गर्ने चलन पनि रहेको छ ।

धार्मिक मान्यतावाट अलग्ग बनाएर केवल उत्साह अनि सदभावका रुपमा हेरेरै त होला नेपालीजनहरु चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मीन्छन् । बालक बालिकाले पिच्कारी अनि स-साना बेलुनहरुका साथमा मज्जा लिन्छन्, फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराई तिर त बाँस काटेर त्यसका ढोडवाट बनाईएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टीकका बोतलवाट बनाईएका पिच्कारीहरु पनि हुन्छन्, वयस्कका लागी होली रंगहरु अनि भातृत्व र साहसको पर्व हो। शुरुशुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनेर बसेतापनि सुस्तरि रंगीन माहोल अनि साथीभाईको रंग भरिएका हात अनि पानीका फोहोरावाट बच्न हम्मे हम्मे पर्दछ। पुराना यादहरु सँगाल्दै अनि अविर र केसरीको टिकाका साथमा वृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।

होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहर सम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ। फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चिर-लिङ्गो विशेषरूपले सजाएर गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ। अन्त्यमा होली पर्वले हामी सबैको घरघरमा खुशी छावोस हामी सबैमा हार्दिक मंङ्गलमय शुभकामना।

नारायणबहादुर बस्नेत

मेचिनगर:- ८ झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article