झापा, २०८२ असार ६ गते । ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा विशेष कारवाही गर्दै मेचीनगर–६ स्थित काँकरभिट्टा बसपार्कमा आज साँझ १९:२० बजेको समयमा अवैध हतियारसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

पक्राउ पर्ने व्यक्ति भारत, दुर्गानगर सिलिगुडी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक रहेका छन्। WB 70 G 3232 नम्बरको TUV300 मोडेलको कारसहित उनी पक्राउ परेका हुन्। प्रहरीद्वारा सो गाडी चेकजाँच गर्दा चालक सिटमुनि लुकाइएको अवस्थामा “STAR RX (IN XAMPL CO2 001907 4.5 MM)” लेखिएको कालो रंगको म्याग्जिनसहितको एयर पेस्तोल जस्तो देखिने हतियार फेला परेको हो।

उक्त पेस्तोलमा रहेको म्याग्जिन खोल्दा ५ राउण्ड एयर बुलेट जस्तो देखिने गोली समेत भेटिएको प्रहरीले जनाएको छ। साथै, सोही गाडीको बाँया सिटमुनि र दाहिने सिटमुनि गरी दुईवटै साइडबाट १/१ थान खुकुरी (जम्मा २ थान) पनि बरामद गरिएको छ।
जय प्रकाशको साथबाट Redmi कम्पनीको एक थान स्क्रिन टर्च मोबाइल, Samsung कम्पनीको एक थान मोबाइल, कागजातहरू र गाडीको RC Book समेत फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ।
पक्राउ परेका पाठकलाई हाल ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। घटनाबारे विस्तृत विवरण संकलन कार्य जारी छ।