हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

भद्रपुर नगरपालिकाको ८० करोडको बजेट सार्वजनिक, बजेट आकारमा झण्डै २७ करोडको कटौती

भद्रपुर, असार ९ । भद्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ८० करोड ५ लाख २८ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको तुलनामा यसपटकको बजेट झण्डै २७ करोडले कटौती गरिएको हो।

Advertisement

नगरपालिकाको १६औँ नगर सभामा नगर उपप्रमुख राधा कार्कीले बजेट प्रस्तुत गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त अनुदानमा आएको कटौती र मौज्दात रकमको अभावले गर्दा बजेटको आकार घटाइएको स्पष्ट पारिन्।

Advertisement

गत वर्ष नगरपालिकाले एक अर्ब सात करोड एक लाख ६९ हजार रुपैयाँ बराबरको घाटा बजेट ल्याएको थियो। यस वर्ष संघीय राजस्व बाँडफाँडबाट १२ करोड ३३ लाख ५० हजार, स्थानीय राजस्वबाट ४ करोड, प्रदेश राजस्व बाँडफाँडबाट ९८ लाख २१ हजार, आन्तरिक स्रोतबाट ७ करोड, संघीय वित्तीय हस्तान्तरणबाट ५१ करोड १० लाख, र प्रदेश वित्तीय हस्तान्तरणबाट ४ करोड ६३ लाख ५७ हजार आम्दानी हुने अनुमान गरिएको छ।

उपप्रमुख कार्कीका अनुसार नगरपालिका कार्यालय प्रशासन, वडा र स्वास्थ्य कार्यालयसहितका कर्मचारीहरूको तलबभत्ता तथा अन्य प्रशासनिक खर्चका लागि १४ करोड विनियोजन गरिएको छ।

वडागत सिलिङ बढाउँदै स्थानीय विकासमा जोड
नगर क्षेत्रभित्रका १० वडामा जनताको आवश्यकता, योजना माग र विकास निर्माणको चापलाई ध्यानमा राख्दै प्रत्येक वडामा १ करोड १ लाखको दरले कुल १० करोड ८ लाख रुपैयाँको वडागत सिलिङ व्यवस्था गरिएको छ। यस बजेटबाट पूर्वाधार, शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन, खानेपानी, महिला, दलित, मुस्लिम, आदिवासी जनजाति, सीमान्तकृत वर्गलगायत लक्षित समुदायका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

समग्र नगरस्तरीय आयोजना र सामाजिक विकासमा जोड
नगरस्तरीय आयोजना, अपूरा योजना तथा विगतका कार्यक्रमको निरन्तरताका लागि ११ करोड रुपैयाँ छुट्याइएको छ। सुशासन, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, रोजगार, महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा उद्यमशीलताको प्रवर्द्धनका लागि छुट्टै रूपमा १४ करोड ५६ लाख रुपैयाँ विनियोजन गरिएको छ।

सभामा नगर प्रमुख गणेश पोखरेलले आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै शिक्षा, कृषि, खेलकुद, पर्यटन, रोजगार प्रवर्द्धन र पूर्वाधार विकासमा प्राथमिकता दिइने जानकारी गराएका थिए। सभामा जनप्रतिनिधिहरूबाट उठेका प्रश्नहरूको उत्तर नगर प्रमुख पोखरेल र प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले दिएका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)