झापा — झापा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ल्याएको नीति तथा कार्यक्रममा गाउँवासीका लागि राहत दिने ऐतिहासिक निर्णय पारित गरेको छ।

अबदेखि ७५ युनिटसम्मको मासिक विद्युत खपतको महसुल गाउँपालिकाले नै तिरिदिने भएको छ।यसअघि ५० युनिटसम्म मात्र पालिकाले महसुल तिर्दै आएकोमा, नयाँ निर्णयअनुसार ७५ युनिटसम्मको खपतसमेत पालिकाले बेहोर्ने व्यवस्था गरिएको हो।

गाउँपालिकाका निर्वाचित अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनुभएको कार्यक्रमलाई थप गर्दै कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाले कार्यक्रम गाउँसभामा प्रस्तुत गरेकी थिइन्, जुन १८औं गाउँसभाबाट अनुमोदन गरिएको हो।
मुख्य बुँदाहरू:
:७५ युनिटसम्मको मासिक विद्युत महसुल अब पालिकाले तिरिदिने
: सिँचाइ प्रयोजनका लागि प्रयोग हुने ८० प्रतिशत विद्युत महसुल पनि पालिकाले बेहोर्दै आएको छ। जस्तै किसानले सिँचाइमा विद्युत खपत गर्दा एक हजार रुपैयाँ लागेमा ८०० रुपैयाँ पालिकाले बेहोर्नेछ।
: अति विपन्न, कृषक र निम्न आय भएका घरपरिवारहरूलाई प्रत्यक्ष राहत
: आर्थिक भार घटाएर जीवनस्तर उकास्ने कदम
स्थानीय बासिन्दाहरूले पालिकाको निर्णयलाई समावेशी, जनमुखी र सहानुभूतिपूर्ण नीतिको रूपमा लिएका छन्। यो निर्णयले न्यून आय भएका परिवारहरूमा आशा र सहजता थपेको देखिएको छ।
झापा गाउँपालिका मा २०७४ बाटै निर्वाचित गाउँपालिका अध्यक्ष जय नारायण शाहले अगाडि बढाउनुभएको नीति तथा कार्यक्रम लाई महत्वका साथ हेर्दै निर्वाचित अध्यक्ष शाहको मार्ग निर्देशन अनुसार कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलिया लगायतको कार्यपालिका टिमले महत्वका साथ अगाडि बढाएको छ।