अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

बाह्रदशी गाउँपालिकाको बजेट : कृषि, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र स्थानीय प्रशासनलाई सुदृढ बनाउने योजना

बाह्रदशी, झापा — आर्थिक वर्ष २०८२/८३ का लागि बाह्रदशी गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम र बजेटमा कृषि, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र स्थानीय प्रशासनलाई सुदृढ बनाउने योजनालाई प्राथमिकतामा राखिएको छ।

Advertisement

कृषकहरूलाई राहत दिने उद्देश्यले सिचाइमा प्रयोग हुने विद्युत महसुल गाउँपालिकाले नै तिर्ने व्यवस्था यथावत राखिएको छ भने खेतसम्म सिचाइ सुविधा पुर्‍याउनका लागि विद्युत पोल र तार खरिदका लागि ९० लाख रुपैयाँ विनियोजन गरिएको छ।

Advertisement

स्वास्थ्य सेवामा पहुँच वृद्धि गर्न गर्भवती महिलालाई निशुल्क भिडियो एक्सरे सेवा दिने व्यवस्था गरिएको छ। यस्तै, गाउँपालिकाबाट उपचार गराउँदा लाग्ने ब्लडको बिल पनि स्वयं पालिकाले व्यहोर्ने व्यवस्था गरिएको छ। स्वास्थ्य बीमा कार्यक्रम सुदृढ पारिनेछ भने निर्माणाधीन आधारभूत अस्पतालको भवन सम्पन्न गरी सेवा प्रवाह सुरु गरिने योजना पनि समावेश गरिएको छ।

सामाजिक सुरक्षामा पनि गाउँपालिकाले गहिरो ध्यान दिएको छ। मृतक व्यक्तिको परिवारलाई सात हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराइनेछ, भने गाउँभित्र मृत्यु भएमा आर्यघाटमा निशुल्क दाउरा पनि दिने गरिएको छ। अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमलाई निरन्तरता दिइने उल्लेख छ। साथै, सिप्टावारीस्थित अति विपन्न मुस्लिम समुदायका नागरिकका लागि आवास निर्माण गरिनेछ।

पूर्वाधार विकासतर्फ हेर्ने हो भने जनता बजारदेखि पुरानो बुट्टावारी झोडा र राजगढ बजारदेखि कोनाबारी पुलसम्मका सडक कालोपत्रे गर्न संघीय र प्रदेश सरकारको साझेदारीमा २/२ करोड रुपैयाँ लगानी गरिनेछ। यस्तै, हरेक वडामा कम्तीमा एउटा सडक कालोपत्रे गर्न ३ करोड ५० लाख रुपैयाँ छुट्याइएको छ। साथै, सिमलचोकदेखि तुलसीवारी जोड्ने सडक पनि कालोपत्रे गरिनेछ। ग्रामीण भेगका विभिन्न स्थानमा पेभर, ग्राभेल, कल्भर्ट र साना पुल निर्माण हुनेछन्।

शैक्षिक र धार्मिक संरचनाको सुधारमा पनि बजेट केन्द्रित छ। विभिन्न मन्दिर, गुम्बा, मस्जिद र मदरसा निर्माण गरिनेछ भने स्थानीय विद्यालयहरूको भौतिक सुधार गरिनेछ। युवाहरूका लागि लोकसेवा तथा शिक्षक सेवा आयोग तयारी कक्षा सञ्चालन गरिनेछ, जसले अवसरको पहुँचलाई अझ सरल बनाउने विश्वास गरिएको छ।

राजश्व प्रणाली सुदृढीकरण, प्रशासनिक भवन निर्माण सम्पन्न गरी सेवा प्रवाह सुरु गर्ने, र समग्रमा गाउँपालिकाको सेवा प्रणालीलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्य बजेटको मूल सारमा रहेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article