समाचार
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

इलाममा छात्राहरूलाई यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षक पक्राउ

इलाम । इलाम माई नगरपालिका–२ स्थित शितलीमा रहेको हरियाली रेशम शैक्षिक सार्वजनिक गुठी विद्यालयका संस्थापक शिक्षक ५२ वर्षीय खेमराज ढकाललाई छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

Advertisement

कक्षा ६ र ७ मा अध्ययनरत बालिकाहरूलाई विभिन्न प्रलोभन र डर देखाई यौन दुर्व्यवहार गर्दै आएको उजुरीपछि प्रहरी चौकी लोदिया दानावारिबाट प्रहरी नायव निरीक्षक सूर्य मोक्तानको नेतृत्वमा ४ जनाको टोली खटिएको थियो। सोही टोलीले ढकाललाई नियन्त्रणमा लिई प्रहरी चौकीमा ल्याएको हो।

Advertisement

आरोपितलाई नियन्त्रणमा लिएपछि पीडित पक्षका करिब १०० जना अभिभावकहरू प्रहरी चौकी दानावारिमा उपस्थित भई कालो मोसो दल्नुपर्ने माग गर्दै आक्रोशित बनेका थिए। स्थिति तनावपूर्ण भएपछि थप सुरक्षाकर्मी परिचालन गरिएको थियो।

प्रहरी चौकी दानावारिबाट थप १२ जना, महमाईबाट ३ जना गरी कुल १५ जना प्रहरीको टोली र सशस्त्र प्रहरी बलको ७ जनाको टोली सशस्त्र प्रहरी नायव निरीक्षक बज्रलाल तामाङको नेतृत्वमा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी निरीक्षक सञ्जीव बोगटीको कमान्डमा १० जनाको थप टोली पनि घटनास्थलमा पठाइएको थियो। आन्दोलित अभिभावकहरू राति अबेलासम्म प्रहरी चौकीको अगाडि धर्नामा बसेका थिए।

जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एकनारायण कोइरालाका अनुसार आरोपित शिक्षकलाई नियन्त्रणमा लिएर यौन दुर्व्यवहारसम्बन्धी अनुसन्धान अगाडि बढाइएको छ। पीडित बालिकाहरूको स्वास्थ्य तथा मनोवैज्ञानिक अवस्थाबारे समेत आवश्यक प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article