शिक्षा
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

लागूऔषधविरुद्ध झापामा कोरा साइक्लिङ र शैक्षिक अभियान सञ्चालन हुने

झापा, धुलाबारी । लागूऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यले झापामा ‘कोरा साइक्लिङ’ तथा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सञ्चालन गरिने भएका छन्।

Advertisement

भद्रपुर जुनियर जेसीज, वीरता जुनियर जेसीज र धुलाबारी जुनियर जेसीजको संयुक्त आयोजनामा आगामी असार १७ र १८ गते यो अभियान सञ्चालन गरिन लागेको हो।

Advertisement

धुलाबारीस्थित पासाङल्हामू जेसीज प्रतिष्ठानमा गत असार ३ गते बसेको संयुक्त बैठकले लागूऔषधविरुद्ध साइकल र्‍याली, वृक्षरोपण, खाद्यान्न र शैक्षिक सामग्री वितरणजस्ता कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको हो।

वीरता जुनियर जेसीज बिर्तामोडका अध्यक्ष अस्मित गोसाईका अनुसार काँकडभिट्टा नाकाबाट निन्दा सिरानसम्म साइकल र्‍याली निकालिनेछ। “झापामा बढ्दो लागूऔषध दुर्व्यसन न्यूनीकरण गर्न यो र्‍याली प्रभावकारी सन्देश दिनेछ,” गोसाईले बताए।

भद्रपुर जुनियर जेसीजका अध्यक्ष सनम शाशंकरले कोरा साइक्लिङमा सहभागीहरूले लागूऔषधविरुद्धका नारासहित साइकलयात्रा गर्ने र निन्दा सिरानबाट दुई घण्टा ट्रेकिङ गर्दै स्थानीय प्राथमिक विद्यालयमा पुगेर वृक्षरोपण तथा शैक्षिक सामग्री वितरण गर्ने जानकारी दिए।

कार्यक्रमको दोस्रो दिन अति विपन्न समुदायका लागि खाद्यान्न वितरण गरिने छ।

धुलाबारी जुनियर जेसीजका अध्यक्ष सृजित ढुंगानाका अनुसार अभियानले युवालाई सकारात्मक क्रियाकलापतर्फ उन्मुख गराउने, लागूपदार्थ दुर्व्यसनबाट जोगाउने र समाजमा सहकार्य, सद्भाव र मानवताको सन्देश फैलाउने उद्देश्य लिएको छ।

अभियानको क्रममा Trek 8586 का पर्यटन विज्ञहरूसँग युवाहरूको अन्तरक्रिया, ट्रेकिङ, गाइडिङ र पर्यटन प्रवर्द्धनसम्बन्धी तालिम सञ्चालन गरिनेछ। सहभागीहरू टेन्टमा रात बिताउने र स्थानीय निकायका प्रतिनिधिहरूसँग स्थानीय पर्यटन र युवाको भूमिकाबारे छलफल गरिने कार्यक्रम संयोजक युनिस कार्कीले जानकारी दिए।

कार्यक्रम संयोजनमा वीरता जुनियर जेसीजका सञ्चार संयोजक युनिस कार्की, भद्रपुर जुनियर जेसीजका कानुनी सल्लाहकार प्रतिक लम्साल र धुलाबारी जुनियर जेसीजका अतित गौतम रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article