हल्दिबारी । हल्दिबारी गाउँपालिका–२ मा आज चौथो हप्ताको सरसफाइ अभियान सफलता पूर्वक सम्पन्न भएको छ। वडास्तरमा निरन्तर भइरहेको यस अभियानमा हल्दिबारी वडा नं. २ र स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत क्षेत्रको फोहोर व्यवस्थापन, झारपात सफाइ तथा सडक छेउछाउको सरसफाइसँगै झार मार्ने विषादी छर्कन महत्त्वपूर्ण योगदान गरिएको हो।

अभियानमा हल्दिबारी गाउँपालिका वडा २ का कार्यवाहक अध्यक्ष रचना कुलुङ्ग, वडा सदस्यहरू विष्णु राई, अम्विका तोलाङ्गी, गणेश मगर, प्रहरी चौकी हल्दिबारीका इन्चार्ज ज्ञान बहादुर श्रेष्ठ, उद्योग वाणिज्य संघ हल्दिबारीका अध्यक्ष सुमन मैनाली, सदस्य कुमार कार्की, भेलागढी सामुदायिक वन उपभोक्ता समूहका सचिव खकेन राजवंशी, हल्दिबारी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तुलसी ओली, युवा व्यवसायी एवं समाजसेवीहरू संजिव पौडेल, होम कार्की, भवानी शिवाकोटी, हरि आचार्य, विष्णु राजवंशी र भेषराज भण्डारी लगायत स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
अभियान विशेष रूपमा सिग्मा अंग्रेजी विद्यालयदेखि सरस्वती स्कुल हुंदै बिर्तामोड–८ को सिमाना सम्म केन्द्रित थियो। सहभागीहरूले सडक छेउछाउको फोहोर, झारपात तथा बोटबिरुवाहरूको व्यवस्थापन गर्दै विषादी छर्केका थिए।
अभियानमा खाजाको व्यवस्था संजिव पौडेल र भवानी शिवाकोटीले तथा खाने पानीको ब्यवस्था कुमार कार्कीले गरेका थिए भने झार मार्ने विषादी पाराखोपी साना किसान चिया सहकारी संस्थाले उपलब्ध गराएको थियो।
जनप्रतिनिधिहरूको सहकार्य र स्थानीय युवाहरूको अग्रसरतामा सञ्चालन भएको यस अभियानले समुदायमा सरसफाइप्रतिको चेतना अभिवृद्धि गर्ने विश्वास गरिएको छ। यस्ता पहलहरूले दीर्घकालीन रूपमा स्वच्छ र सुन्दर वातावरण निर्माणमा टेवा पुर्याउने अपेक्षा गरिएको छ। वडा सदस्य विष्णु राईका अनुसार, सरसफाइ अभियानलाई निरन्तरता दिँदै आउँदो शनिबार सिग्मा अंग्रेजी विद्यालयदेखि दक्षिण लक्ष्मी स्कुलसम्म सफाइ कार्य अगाडि बढाइनेछ।