झापा । हल्दिबारी गाउँपालिका–३ बाघडाडा बस्दै आएकी शान्ति राईको घरमा चोरी गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ।

गएको राति करिब २ बजे स्थानीय २३ वर्षीय किरण भनिने सुवाष तामाङले राईको घरबाट ३७ हजार रुपैयाँ नगद र एक थान मोबाइल चोरी गरेका थिए। चोरी गरिएको मोबाइल पारखोपि बजारमा बिक्री गर्ने क्रममा स्थानीयवासीको सहयोगमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका तामाङलाई हाल जलथल प्रहरीमार्फत जिल्ला प्रहरी कार्यालय झापा बुझाइएको छ।

लगातार बढिरहेका चोरीका घटनाबारे वडाअध्यक्ष विष्णु ओलीले चिन्ता व्यक्त गर्दै यसलाई दुःखद घटना भनेका छन्। उनले वडावासीलाई सतर्कता अपनाउन र सामाजिक अपराध नियन्त्रणका लागि हातेमालो गर्न आग्रह गरेका छन्।
पछिल्लो समय लागुऔषध दुरुपयोगले गर्दा हल्दिबारी क्षेत्रमा अनौठा घटनाहरू बढ्दो क्रममा रहेको स्थानीयहरूले बताएका छन्।
