झापा । “स्वच्छ वातावरण, स्वस्थ जीवन” भन्ने नारासहित हल्दीबारी–४ को बडाबारी बजार सरसफाइ अभियान निरन्तर जारी छ।

स्थानीय सरोकारवालाको सक्रिय सहभागितासहित पुनः सुरु गरिएको अभियान सोमबार आठौं हप्तामा प्रवेश गरेको हो। अभियान अन्तर्गत भाद्र २ गते बिहान ७ बजे बडाबारी बजार क्षेत्रमा सरसफाइ गरिएको थियो।

यस अभियानलाई बडाबारी बजार व्यवस्थापन समितिले आयोजना गरेको हो। कार्यक्रममा वडा नं. ४ कार्यालय, प्रहरी चौकी जलथल, नेपाल रेडक्रस सोसाइटी उपशाखा जलथल, बन समूह, खानेपानी तथा सरसफाइ उपभोक्ता समूह, जलथल स्वास्थ्य चौकी, शृजनशील युवा समूहसहित स्थानीय बासिन्दा र व्यवसायीहरूको समेत सक्रिय सहभागिता रहेको थियो।
सामूहिक सहभागितामार्फत बजारलाई अझ स्वच्छ, सुन्दर र सुरक्षित बनाउन सकिने विश्वासका साथ सरसफाइ अभियानलाई निरन्तरता दिइने बडाबारी बजार व्यवस्थापन समितिका सचिव योगेश कार्कीले जानकारी दिए।