झापा, भदौ ३ । झापाको दमक नगरपालिका–७ पशुडाँडास्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान भएको सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन्।

बिहान करिब ८ बजे दमकबाट पाडाजुँगीतर्फ जाँदै गरेको बन्दाकोपी बोकेको प्र–१–०२–००२ ख ०९१२ नम्बरको मालवाहक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्र–१–०१–०१२ प ९३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा मोटरसाइकल चालक कमल गाउँपालिका–५ का ४३ वर्षीय सुकदेव गौतम घाइते भएका छन्। उनको बाँया खुट्टामा चोट लागेको र बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। घाइते गौतमलाई उपचारका लागि दमक अस्पताल पठाइएको छ।
तर, पछाडिबाट सवार उनकी पत्नी ४२ वर्षीया मुना गौतमको घटनास्थलमै मृत्यु भएको छ। मृतकको शव पोस्टमार्टमका लागि दमक अस्पतालको शवगृहमा राखिएको छ।
दुर्घटनापछि ट्रक चालक तेह्रथुम, लालिगुँरास नगरपालिका–४ का २५ वर्षीय आङदावा शेर्पालाई प्रहरीले नियन्त्रणमा लिएको छ। साथै, दुर्घटनामा संलग्न ट्रक र मोटरसाइकल दुवैलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ। सांकेतिक तस्वीर