झापा — झापाको बुद्धशान्ति गाउँपालिका–४, बर्नेस्थित मेचि राजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ।

मंगलबार दिउँसो करिब ३ बजेर ३० मिनेटमा, इलामबाट बुधबारेतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको स्कारपियो र विपरीत दिशाबाट गइरहेको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक, बुद्धशान्ति–१ का ४६ वर्षीय ठाकुर अधिकारी गम्भीर घाइते भएका थिए। उनलाई तत्कालै उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल पुर्याइएको थियो।
तर, उपचारकै क्रममा साँझ ५ बजेर ४० मिनेटमा अधिकारीको मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ।मृतकको शव हाल सोही अस्पतालमै राखिएको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।