समाचार
हल्दिबारी संवाददाता ८ महिना अगाडि

जनै : धार्मिक गरिमा, वैज्ञानिक आधार र आत्मनिर्भर अर्थतन्त्रको सम्भावना

हिन्दू धर्म र संस्कृतिमा जनै (यज्ञोपवीत) केवल धार्मिक पहिचान मात्र नभई अनुशासन, ज्ञान, संस्कार र आत्मसंयमको प्रतीकका रूपमा लिइन्छ। नेपालमा बहुसंख्यक नागरिकले धारण गर्ने जनैको धार्मिक, सांस्कृतिक र वैज्ञानिक महत्त्व अत्यन्त गहिरो रहेको धार्मिक विद्वान्हरू बताउँछन्।

Advertisement

कपासलाई काँचो धागोमा परिणत गरी विशेष विधि र मन्त्रद्वारा निर्माण गरिने जनैलाई शास्त्रमा यज्ञद्वारा संस्कारित पवित्र सूत्रका रूपमा वर्णन गरिएको छ। वेदमा ‘यज्ञो वै विष्णुः’ भनी यज्ञलाई विष्णुस्वरूप मानिएको छ भने सोही यज्ञबाट संस्कारित उपवीतलाई यज्ञोपवीत भनिएको उल्लेख पाइन्छ।

Advertisement

९६ फन्का र ब्रह्मसूत्रको शास्त्रीय आधार
शास्त्रीय मान्यताअनुसार जनैमा ९६ फन्का रहन्छन्। तिथि (१५), वार (७), नक्षत्र (२७), तत्त्व (२५), वेद (४), गुण (३), काल (३) र मास (१२) को योग ९६ हुन्छ। यही ९६ संख्या ब्रह्मसूत्रको आधार मानिएको हो। ती फन्कालाई मन्त्र उच्चारणसहित आधान गरी अन्ततः तीन डोरामा बाटेर नौ तन्तु बनाइन्छ।

शास्त्रमा जनैका नौ तन्तुमा ओंकार, अग्नि, अनन्त, चन्द्र, पितृ, प्रजापति, वायु, सूर्य र सर्वदेवताको वास रहने उल्लेख छ। यी तन्तुले धारकलाई मन, वचन र कर्मको एकताको शिक्षा दिने धार्मिक व्याख्या छ।

आयुर्वेद र वैज्ञानिक दृष्टिकोण
श्रावण महिनामा जडिबुटी चरनमा रहेका गाईको गोबर, यज्ञीय समिधाको भष्म, चोखो माटो तथा कुश, दूबो, अपामार्गजस्ता वनस्पतिको प्रयोगले शरीरमा पञ्चतत्त्वीय ऊर्जा प्रवाह हुने आयुर्वेदमा उल्लेख छ। धार्मिक अभ्याससँगै स्वास्थ्य र जीवनशैलीसँग यसको सम्बन्ध रहेको जानकारहरूको भनाइ छ।

स्त्री–पुरुष समान परम्परा
शास्त्रीय प्रमाणअनुसार प्राचीन कालमा स्त्री–पुरुष दुवैले जनै धारण गर्ने परम्परा रहेको देखिन्छ। माता सीता, गार्गी, कुन्ती, द्रौपदीदेखि भगवान शिव, श्रीराम, श्रीकृष्ण, राजा जनक र यहाँसम्म कि लंकापति रावणसम्मले जनै धारण गरेको उल्लेख ग्रन्थहरूमा पाइन्छ। त्यसैले स्त्रीले जनै धारण गर्नु हुँदैन भन्ने धारणा शास्त्रसम्मत नभएको विद्वान्हरू बताउँछन्।

जनै र आत्मनिर्भर अर्थतन्त्र
धार्मिक महत्त्वसँगै जनै उत्पादन आर्थिक दृष्टिले पनि ठूलो सम्भावना बोकेको क्षेत्र हो। हाल नेपाली बजारमा प्रयोग हुने धेरैजसो जनै विदेशबाट आयात हुने गरेको छ, जसका कारण अर्बौं रुपैयाँ बाहिरिइरहेको तथ्यांक देखिन्छ।
“हामीसँग कपास छ, श्रम छ, सीप सिक्ने सम्भावना छ, तर आत्मनिर्भर बन्ने सोच कमजोर छ,” चेतना नेपाल तथा राष्ट्रिय हिन्दू एकता मञ्च नेपालका अध्यक्ष एवं प्रमुख प्रशिक्षक इन्द्रप्रसाद ओली भन्छन्, “घरमै बसेर जनै निर्माण गरेर आयआर्जन गर्न सकिन्छ। यसले रोजगारी सिर्जना गर्नुका साथै कपास खेती प्रवर्द्धन र निर्यातमार्फत देशको अर्थतन्त्र बलियो बनाउन सक्छ।”


ग्रामीण क्षेत्रदेखि सहर, यहाँसम्म कि बन्दी जीवन बिताइरहेका व्यक्तिसमेतलाई उत्पादनमा जोड्न सकिने भएकाले जनै उद्योग सामाजिक पुनःस्थापना र समावेशी विकासको माध्यमसमेत बन्न सक्ने उनको धारणा छ।

संस्कृति संरक्षणसँगै उद्यमशीलता धार्मिक आस्थाको संरक्षण, संस्कृतिको प्रवर्द्धन र आर्थिक आत्मनिर्भरता—यी तीनै पक्षलाई एकसाथ अघि बढाउन जनै उत्पादन प्रभावकारी माध्यम बन्न सक्ने विज्ञहरूको निष्कर्ष छ। “सकारात्मक सोच र श्रमको सम्मानले मात्र सिर्जनात्मक काम सम्भव हुन्छ,” ओली भन्छन्, “जनैमा आत्मनिर्भर बन्नु स्वाभिमानी राष्ट्र निर्माणतर्फको एउटा महत्वपूर्ण कदम हो।”

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article