हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

झापाको चन्द्रगढीमा अन्तर्राष्ट्रिय महिला गोल्डकप हुँदै

भद्रपुर । झापाको भद्रपुरस्थित मेची रंगशालामा पहिलोपटक ‘चन्द्रगढी महिला गोल्डकप’ आयोजना हुने भएको छ। आयोजक चन्द्रगढी युवा क्लबले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता २०८३ वैशाख ५ देखि १४ गतेसम्म सञ्चालन गर्ने जानकारी दिएको हो।

Advertisement

प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्वरूप दिन भारत, भुटान र अन्य एसियाली राष्ट्रका क्लबसमेत सहभागी गराइने आयोजकले जनाएको छ। घरेलु टोलीतर्फ त्रिभुवन आर्मी, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड र संकटा क्लबका महिला टिमले प्रतिस्पर्धा गर्ने निश्चित भइसकेको छ। आयोजकको पनि एक टिम रहनेछ।

Advertisement

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ प्राप्त गर्नेछ, जुन महिला फुटबलतर्फकै सर्वाधिक पुरस्कार राशि भएको आयोजकको दाबी छ। उपविजेतालाई ५ लाख नगद पुरस्कार प्रदान गरिनेछ। त्यस्तै, उत्कृष्ट खेलाडी (एमभीपी), उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र सर्वाधिक गोलकर्तालाई व्यक्तिगत पुरस्कार दिइनेछ। प्रत्येक खेलको ‘प्लेयर अफ द म्याच’ लाई नगदसहित ट्रफी प्रदान गरिनेछ।

प्रतियोगिताको मुख्य प्रायोजक ओम साई पाथिभरा हस्पिटल रहेको छ भने उपविजेताको पुरस्कार सजिलो नेटले प्रायोजन गरेको छ। भद्रपुर नगरपालिका र वडा कार्यालयहरूले पनि प्रतियोगितालाई सहयोग गरेका छन्।

आयोजकका अध्यक्ष रोहित सुब्बाले झापालाई महिला फुटबलको केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना गर्न लागिएको बताए। “महिला खेलाडी उत्पादन र प्रवर्द्धनका लागि यो प्रतियोगिता दीर्घकालीन रूपमा सञ्चालन गर्ने योजना छ,” उनले भने।

पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, भद्रपुर गोल्डकपका अध्यक्ष दिपेश ढकाल र झापा फुटबल संघका अध्यक्ष भगीरथ आले ‘मामा’ लगायतले प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

प्रतियोगिताको तयारीस्वरूप मेची रंगशालाको स्तरोन्नति तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। दर्शक क्षमतालाई ध्यानमा राख्दै अस्थायी प्यारापिट निर्माण र मैदान सुधारको काम चैतभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

प्रतियोगिता सञ्चालनका लागि करिब एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ। आयोजकले झापाका उद्योगी, व्यवसायी, खेलप्रेमी तथा सञ्चार क्षेत्रसँग सहकार्यको अपिल गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)