समाचार
हल्दिबारी संवाददाता ४ महिना अगाडि

दोस्रो अन्तरपालिका सन्थाल फुटबल प्रतियोगिता २०८२ भव्य रूपमा सुरु


कन्काई, झापा | चैत २० : झापाको कन्काई नगरपालिका-९, घैलाडुब्बास्थित श्री आदर्श विद्यामन्दिर माध्यमिक विद्यालयको खेल मैदानमा आजदेखि “दोस्रो अन्तरपालिका सन्थाल फुटबल प्रतियोगिता २०८२” भव्य रूपमा सुरु भएको छ। प्रतियोगिता मार्शाल ११ सन्थाल फुटबल क्लब र कनकाई नगर खेलकुद विकास समितिको संयुक्त आयोजनामा, तथा कनकाई नगरपालिका र विभिन्न सहयोगीदाताको आर्थिक सहयोगमा सञ्चालन भइरहेको हो।
उद्घाटन समारोहको सभापतित्व कनकाई नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन ओलीले गर्नुभएको थियो, भने प्रमुख अतिथिका रूपमा कन्काई नगरपालिकाका मेयर राजेन्द्र कुमार पोखरेल उपस्थित हुनुहुन्थ्यो। विशिष्ट अतिथिमा उपमेयर आशा शर्मा शिवाकोटी, विभिन्न वडाका अध्यक्षहरू, रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष सुशील कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालयका इन्चार्ज र पूर्व इन्चार्ज, नेपाल सन्थाल विकास सङ्घका अध्यक्ष, बाह्रदशी खेलकुद विकास समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक र स्थानीय समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
सन्थाल समुदायका वडा सचिव जिसु मुर्मुले कार्यक्रमको विशेष भूमिका निर्वाह गर्नुभएको थियो।
आजको उद्घाटन खेलमा झापा गाउँपालिका र बाह्रदशी गाउँपालिकाबीच प्रतिस्पर्धा भएको थियो। प्रतिस्पर्धात्मक खेलमा झापा गाउँपालिकाले उत्कृष्ट प्रदर्शन गर्दै १–० गोल अन्तरले विजय हासिल गर्‍यो। खेलमा उत्कृष्ट प्रदर्शन गरेका झापा गाउँपालिकाका गोल किप्पर विजय सोरेनलाई ‘म्यान अफ द म्याच’ घोषित गरियो। उक्त खेलमा रेफ्रीको भूमिका डिक बहादुर श्रेष्ठले निर्वाह गर्नुभएको थियो।
प्रतियोगिताको फाइनल खेलमा विजेता टोलीले नगद रु. ६१,०००, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले रु. ३५,०००, ट्रफी र प्रमाणपत्र पाउनेछन्। मार्शाल ११ सन्थाल फुटबल क्लबका अध्यक्ष गोपिन सोरेनका अनुसार, यो प्रतियोगिताले सन्थाल समुदायका खेलाडीहरूको प्रतिभा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article