हल्दिबारी डटकम
Hover Ad Article
समाचार
हल्दिबारी संवाददाता ५ महिना अगाडि

स्थानीय बजार जोगाउन र राजस्व बढाउन झापाका सीमा नाकामा सशस्त्र प्रहरीको कडाइ

राजस्व चुहावट नियन्त्रण गर्ने उद्देश्यका साथ सशस्त्र प्रहरी बलले झापाका पूर्वीनाका काँकडभिट्टालगायत विभिन्न भन्सार क्षेत्रमा निगरानी बढाएको छ। सीमावर्ती क्षेत्रका बासिन्दाहरू खाद्यान्न, लत्ताकपडा र अन्य घरायसी सामान खरिदका लागि भारतीय बजार धाउने प्रवृत्तिका कारण स्थानीय व्यापार व्यवसाय संकटमा परेको र मुलुकले ठूलो मात्रामा राजस्व गुमाइरहेको गुनासो आएपछि यो कडाइ गरिएको हो।

Advertisement

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वार्टर झापाका अनुसार मेचीनगर, भद्रपुर, गौरीगञ्ज र कचनकवल लगायतका प्रमुख नाकाहरूमा अहिले विशेष निगरानी थालिएको छ। अबदेखि भारतबाट एक सय रुपैयाँभन्दा बढी मूल्यको सामान ल्याउँदा अनिवार्य रूपमा भन्सार महसुल बुझाउन सर्वसाधारणलाई आग्रह गरिएको छ। सशस्त्र प्रहरीका सूचना अधिकारी मदन रसाइलीले गृह मन्त्रालयको निर्देशन बमोजिम राजस्व संकलनलाई प्रभावकारी बनाउन र अवैध आयात रोक्न सीमा क्षेत्रमा सचेतनामूलक कार्यक्रमसँगै कडाइ सुरु गरिएको जानकारी दिनुभयो।

Advertisement

भन्सार महसुल नबुझाई सामान भित्र्याउन खोजेमा कानुनबमोजिम कारबाही प्रक्रिया अघि बढाइने भन्दै प्रहरीले सीमा क्षेत्रमा सूचना जारी गरेको छ। सिमानाकाबाट हुने सानोदेखि ठूलो परिमाणको अवैध आयात र राजस्व चुहावटलाई शून्यमा झार्न सशस्त्र प्रहरीले देशैभरका नाकाहरूमा झापामा जस्तै गरी निगरानी र सक्रियता बढाएको छ। यस कदमले राज्यको कोषमा सकारात्मक प्रभाव पर्ने र स्वदेशी बजार चलायमान हुने अपेक्षा गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)