समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

बुट्टाबारीको संघर्षपूर्ण जित, सेमिफाइनलमा प्रवेश

बिर्तामोड । आयोजक बुट्टाबारी युनाइटेडले भारतको तरञ्जुबारी फुटबल क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै ‘एनी चौथो बुट्टाबारी गोल्ड कप’ फुटबल प्रतियोगिताको सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ।

Advertisement

शनिबार सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा बुट्टाबारीले कडा प्रतिस्पर्धाबीच जित हात पारेको हो। उसका लागि ३०औँ मिनेटमा प्रदिप बुढाथोकीले गरेको गोल नै निर्णायक बन्यो। सौरव लिम्बुको लामो प्रहारलाई बुढाथोकीले हेडमार्फत गोलमा परिणत गरेका थिए।

Advertisement

गोल खाएपछि दबाब बढाएको तरञ्जुबारीले बराबरी फर्काउने प्रयास गरे पनि सफल हुन सकेन। दोस्रो हाफमा सुधारिएको प्रदर्शन देखाए पनि उसका खेलाडीले पाएका अवसर सदुपयोग गर्न सकेनन्। बुट्टाबारीका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाउ गर्दै टोलीको जित सुरक्षित राखे।
निर्णायक गोलकर्ता बुढाथोकी म्यान अफ दि म्याच घोषित भए। उनले नगद ३ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे। उनलाई आयोजक समितिका अध्यक्ष प्रविण राई र बिर्तामोड–६ का वडाअध्यक्ष सूर्यप्रसाद कन्दङ्वाले पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिताअन्तर्गत आइतबार हुने दोस्रो क्वाटरफाइनलमा बेलबारी फुटबल क्लब मोरङ र रेडहर्स फुटबल क्लब इलामबीच प्रतिस्पर्धा हुनेछ। बिर्तामोड–६ स्थित नमुना खेल मैदानमा दिउँसो ३ बजे खेल सुरु हुनेछ।

प्रतियोगिताको विजेताले २ लाख २२ हजार २ सय २२ रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगदसहित ट्रफी पाउनेछन्। प्रत्येक खेलको म्यान अफ दि म्याचलाई ३ हजार रुपैयाँ प्रदान गरिनेछ।

उत्कृष्ट खेलाडीले १५ हजार रुपैयाँ पाउनेछन् भने उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट युवा खेलाडीलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

भारतको एकसहित नेपालका सात गरी ८ टोली सहभागी प्रतियोगिताको फाइनल वैशाख १२ गते हुने तय गरिएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article