समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

महिला गोल्डकप :चर्च ब्वाइज सेमिफाइनलमा, थिम्पु सिटी बाहिरियो

भद्रपुर। झापाको भद्रपुरमा जारी ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकपमा भुटानको थिम्पु सिटी फुटबल क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको रोमाञ्चक खेलमा चर्च ब्वाइजले ३–२ को कठिन जित निकाल्दै अन्तिम चारको यात्रा तय गर्दा थिम्पु सिटी भने पहिलो खेलबाटै प्रतियोगिताबाट बाहिरिएको छ ।

Advertisement

​खेलको २७ औँ मिनेटमा मरियम खातुनले डिबक्स बाहिरबाट उत्कृष्ट प्रहार गर्दै चर्च ब्वाइजलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा वर्षा ओलीको पासलाई सदुपयोग गर्दै खातुनले नै व्यक्तिगत दोस्रो गोल गरेपछि चर्च ब्वाइज २–० ले अघि बढ्यो ।

Advertisement

​दोस्रो हाफमा थिम्पु सिटीले आक्रामक पुनरागमनको प्रयास गर्‍यो । खेलको ४४ औँ मिनेटमा रोता राईले गोल गर्दै अन्तर घटाए भने ५८ औँ मिनेटमा चर्च ब्वाइजकी डिफेन्डर मनिता तामाङबाट आत्मघाती गोल हुन पुग्दा खेल २–२ को बराबरीमा पुगेको थियो । तर, ७९ औँ मिनेटमा थिम्पुका डिफेन्डरको गल्तीको फाइदा उठाउँदै वर्षा ओलीले निर्णायक गोल गरेपछि चर्च ब्वाइजको जित सुनिश्चित भयो ।

​दुई गोल गरेकी चर्च ब्वाइजकी मरियम खातुन खेलको ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । सोमबारको खेल नेपाल पुलिस क्लब र आयोजक चन्द्रगढी युवा क्लबबीच हुने आयोजकले जनाएको छ । नेपालकै सर्वाधिक पुरस्कार राशिको यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article