समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

यू–१३ इन्डो–नेपाल टी–२०: उपाधिका लागि बोस्टन र सरस्वती भिड्ने

अर्जुनधारा । झापाको अर्जुनधारामा जारी यू–१३ इन्डो–नेपाल टी–२० च्याम्पियन्स ट्रफीको उपाधि भिडन्त भोलि मंगलबार हुने भएको छ। अर्जुनधारा–९ स्थित नमुना खेल मैदानमा हुने फाइनल खेलमा आयोजक बोस्टन क्रिकेट एकेडेमी र सरस्वती क्रिकेट एकेडेमी आमनेसामने हुनेछन्। सोमबार सम्पन्न दोस्रो सेमिफाइनल खेलमा कोलकाताको क्रिकेट जोन अन्दलालाई २ विकेटले पराजित गर्दै सरस्वती क्रिकेट एकेडेमीले फाइनलको यात्रा तय गरेपछि उपाधि भिडन्तको समीकरण पूरा भएको हो।

Advertisement

​सेमिफाइनलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकाताको अन्दलले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनाएको थियो। अन्दलका लागि रेयान्स अग्रवालले ३८ रनको योगदान दिए भने सुमितले १५ र साजिद सेखले १० रन जोडे। बलिङतर्फ सरस्वतीका अन्जिल आचार्य, कुश साहा र स्पर्श गुरागाईंले समान २–२ विकेट लिएका थिए। ११५ रनको लक्ष्य पछ्याएको सरस्वतीले १९.५ ओभरमा ८ विकेट गुमाउँदै अत्यन्तै रोमाञ्चक जित निकालेको थियो। सरस्वतीका लागि कुश साहाले ३२ रन र साम्री बुढाथोकीले २८ रनको महत्वपूर्ण इनिङ खेले भने आरव श्रेष्ठले १३ रन थपे।

Advertisement

​कोलकाताका आयुष साहनी र आर्यदीप मण्डलले २–२ विकेट लिए पनि टोलीको हार टार्न सकेनन्। खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका सरस्वतीका कुश साहा प्लेयर अफ द म्याच घोषित भए। यसअघि नै पहिलो सेमिफाइनल जितेर अर्जुनधाराको बोस्टन क्रिकेट एकेडेमीले फाइनलमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो।

​अर्जुनधारा नगरपालिका खेलकुद विकास समितिको आयोजना तथा बोस्टन क्रिकेट एकेडेमीको सह–आयोजनामा सञ्चालित यस प्रतियोगितामा नेपालका ८ र भारतका २ गरी कुल १० टोलीले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगिताको विजेताले नगद १ लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। आयोजकले भोलि मध्यान्ह १२ बजे हुने फाइनल खेल प्रत्यक्ष अवलोकनका लागि खेल प्रेमी दर्शकहरूलाई मैदानमा उपस्थित हुन आह्वान गरेको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article