समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

महिला गोल्डकप :चर्च ब्वाइजलाई हराउँदै एपीएफ फाइनलमा

भद्रपुर, १२ बैशाख । विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब भद्रपुरमा जारी ‘ओम साई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ को फाइनलमा प्रवेश गरेको छ। बुधबार भएको सेमिफाइनल खेलमा चर्च ब्वाइज युनाइटेडलाई ३–० को सहज अन्तरले पराजित गर्दै एपीएफले उपाधि भिडन्त पक्का गरेको हो। अब एपीएफले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबको सामना गर्नेछ।
​चन्द्रगढी रंगशालामा भएको खेलको ३४ औं मिनेटमा रश्मिकुमारी घिसिङको गोलबाट एपीएफले सुरुवाती अग्रता लिएको थियो। कुसुम खतिवडाको क्रस पासमा कप्तान अनिता बस्नेतले नियन्त्रणमा लिन खोज्दा होल्ड भएको बललाई रश्मिले जाली चुमाएकी थिइन्। पहिलो हाफमा १–० ले अगाडि रहेको एपीएफले दोस्रो हाफमा थप दुई गोल गर्‍यो।
​खेलको ४९ औं मिनेटमा रश्मिको पासमा कप्तान अनिता बस्नेतले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाइन्। ६२ औं मिनेटमा अनिताकै पासलाई सदुपयोग गर्दै रश्मिले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरिन्। प्रतियोगितामा रश्मिको यो छैटौं गोल हो, उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्ष स्थानमा छिन्।
​खेल अवधिभर एपीएफले आक्रामक रणनीति बुन्दा चर्च ब्वाइज रक्षात्मक देखिएको थियो। एपीएफकी रेनुका नगरकोटी ‘प्लेयर अफ द म्याच’ घोषित भइन्। उनले ११ हजार रुपैयाँ नगद पुरस्कार पाइन्। १० टोली सहभागी यस प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यो महिला फुटबलमा नेपालकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता हो।

Advertisement

Advertisement
Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article