समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

बुट्टाबारी गोल्डकपको उपाधि आयोजकलाई

बिर्तामोड।आयोजक बुट्टाबारी युनाइटेडले एनी चौथो बुट्टाबारी गोल्डकप नकआउट फुटबल प्रतियोगिताको उपाधि जितेको छ। शनिबार बिर्तामोड–६ स्थित हरियाली खेल मैदानमा भएको रोमाञ्चक फाइनल भिडन्तमा धरानको फेयर फुटबल क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै बुट्टाबारीले उपाधिसहितको ट्रफी आफ्नै घरमा राख्न सफल भएको हो।

Advertisement

​खेलको पहिलो हाफमा दुवै टोलीले आक्रामक रणनीति अपनाए पनि गोलरहित बराबरीमा टुङ्गिएको थियो। दुवै पक्षले केही उत्कृष्ट अवसरहरू सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन्। तर, दोस्रो हाफमा बुट्टाबारीका प्रताप राई नायक बने। उनले खेलको ७६औँ मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए भने ८६औँ मिनेटमा पुनः अर्को गोल थप्दै जितको आधार बलियो बनाए। खेलको अन्तिम समयतिर धरानका कृष्ण राईले एक गोल फर्काए पनि टोलीलाई जिताउन त्यो पर्याप्त भएन।

Advertisement

​विजेता बुट्टाबारी युनाइटेडले नगद २ लाख २२ हजार २ सय २२ रुपैयाँ र आकर्षक ट्रफी हात पारेको छ। उपविजेता फेयर फुटबल क्लबले १ लाख ११ हजार १ सय ११ रुपैयाँमा चित्त बुझाएको छ।

प्रतियोगितामा बुट्टाबारीका सनम राई सर्वोत्कृष्ट खेलाडी घोषित भए। दुई गोल गरेका प्रताप राई फाइनलको ‘प्लेयर अफ द म्याच’ चुनिए। त्यस्तै, बुट्टाबारीकै विवेक मगर उत्कृष्ट गोलकिपर र करण लिम्बू ‘राइजिङ प्लेयर’ घोषित भए। फेयर एफसीका सौरा राउतले प्रतियोगिताभर ४ गोल गर्दै सर्वाधिक गोलकर्ताको पुरस्कार जिते। विजयी खेलाडीहरूलाई बिर्तामोड–६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, आयोजक समितिका अध्यक्ष प्रविन राई र टाइटल स्पोन्सर सन्तोष थोप्रालगायतले पुरस्कार वितरण गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article