समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

हल्दीबारी रेडक्रसको २२ औँ साधारण सभामा असल सासु र बुहारी सम्मानित

हल्दीबारी, झापा । नेपाल रेडक्रस सोसाइटी हल्दीबारी उपशाखाको २२ औँ साधारण सभा तथा विश्व रेडक्रस दिवसका अवसरमा आयोजित एक विशेष समारोहका बीच ‘असल सासु–बुहारी’ लाई सम्मान गरिएको छ।

Advertisement

उपशाखाका सभापति कर्णाखर प्रसाईको अध्यक्षता एवं कोशी प्रदेश सभा सदस्य छविलाल चुडालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक र पारिवारिक सद्भावको उदाहरण पेश गर्ने दुई जना सासु र चार जना बुहारीलाई पुरस्कृत गरियो।

Advertisement

​यस वर्ष सम्मानित हुने सासुहरूमा हल्दीबारी–१ की भीमकुमारी बस्नेत र हल्दीबारी–२ की मेनुका भण्डारी रहनुभएको छ। त्यसैगरी, असल बुहारीतर्फ बिमला चुडाल संग्रौला, मुना खतिवडा न्यौपाने, हिमाकुमारी खत्री मगर र छायादेवी सेवाकोटी मैनालीलाई सम्मान गरिएको छ। सम्मानित व्यक्तित्वहरूलाई प्रमुख अतिथि चुडाल, हल्दीबारी–२ का वडा अध्यक्ष शुकलाल राजवंशी र नेपाल रेडक्रस सोसाइटी झापाका कोषाध्यक्ष एवं अग्रज रेडक्रसकर्मी ओम प्रकाश गौतम लगायतले दोसल्ला ओढाएर नगद र सम्मानपत्रसहित सम्मान प्रदान गर्नुभएको थियो।

​रेडक्रसले सामाजिक दायित्व अन्तर्गत विगत ६ वर्षदेखि दाता रमेश प्रसाद तिम्सिनाको सौजन्यमा ‘असल बुहारी सम्मान’ गर्दै आएको छ भने विगत ४ वर्षदेखि ‘असल सासु’ लाई समेत सम्मान गर्ने परम्परा सुरु गरिएको छ। साविक गोलधाप र हल्दीबारी गाविस क्षेत्रभित्रका योग्य पात्रहरूको पहिचानका लागि उपशाखाले करिब दुई महिना लगाएर छनोट प्रक्रिया पुरा गरेको थियो।

​समारोहका बीच दिपेन्द्र कुमार कार्कीलाई रेडक्रसको विशिष्ट सदस्यता र अन्य केही महानुभावहरूलाई आजीवन सदस्यता समेत प्रदान गरिएको थियो। कार्यक्रममा उपशाखा अध्यक्ष प्रसाईले वार्षिक प्रतिवेदन र कोषाध्यक्ष भीम फ्याकले लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य उपशाखा सदस्य सरिता न्यौपानेले राख्नुभएको थियो भने कार्यक्रमको सहजीकरण सचिव कृष्ण प्रसाईले गर्नुभएको थियो। शुभकामना मन्तव्यका क्रममा वक्ताहरूले रेडक्रसले मानवीय सेवाका साथै पारिवारिक सम्बन्धलाई मर्यादित बनाउन खेलेको भूमिकाको प्रशंसा गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article