समाचार
हल्दिबारी संवाददाता २ महिना अगाडि

हल्दिबारीमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, साढे ३ सय बढीले पाए विशेषज्ञ सेवा

झापा, ६ जेठ । झापाको हल्दिबारी गाउँपालिका वडा नं. ३ वडा कार्यालयको आयोजनामा सोमबार वृहत् निःशुल्क आँखा, नाक, कान तथा घाँटी स्वास्थ्य शिविर सम्पन्न भएको छ। स्थानीय नागरिकलाई घरदैलोमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले आयोजित शिविरबाट साढे ३ सयभन्दा बढी सेवाग्राही प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

Advertisement

​कार्यक्रमका प्रमुख अतिथि मान बहादुर बन (महेन्द्र) ले ब्यानर वाचन गर्दै शिविरको औपचारिक उद्घाटन गर्नुभएको थियो। उद्घाटन मन्तव्यका क्रममा प्रमुख अतिथि बनले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा स्थानीय सरकार जनताको साथमा रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले गाउँस्तरमै गुणस्तरीय सेवा प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। सोही क्रममा उहाँले पछिल्लो समय चर्चामा रहेको हुलाकी राजमार्ग परियोजनाका समस्या समाधानका लागि पालिका, जनप्रतिनिधि, कर्मचारी तथा सामाजिक अभियान्ताहरूले निरन्तर पहल गरिरहेको उल्लेख गर्दै विकास निर्माणका हरेक अभियानमा सामूहिक सहकार्य अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो। उहाँले नागरिकलाई पालिकाले सञ्चालन गर्ने सेवा र जनहितका कार्यक्रममा सक्रिय सहभागिता जनाउन समेत आग्रह गर्नुभयो।

Advertisement

​कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै वडा अध्यक्ष बिष्णु ओलीले ग्रामीण क्षेत्रका नागरिकलाई सहज, सुलभ र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको बताउनुभयो। वडा अध्यक्ष ओलीका अनुसार शिविरमा २३४ जनाले आँखा परीक्षण र १६० जनाले नाक, कान तथा घाँटीको परीक्षण गराएका छन्। त्यसैगरी शिविरबाट ८५ जनाले निःशुल्क चस्मा सेवा प्राप्त गरेका छन् भने मोतियाविन्दुको शल्यक्रियाका लागि २२ जना सेवाग्राही छनोट भएका छन्।

​स्थानीय नागरिकले गाउँमै विशेषज्ञ सेवा पाउँदा खुसी व्यक्त गरेका छन्। शिविरले विशेषगरी ज्येष्ठ नागरिक, आर्थिक रूपमा कमजोर तथा नियमित स्वास्थ्य पहुँचबाट टाढा रहेका सर्वसाधारणलाई ठूलो राहत पुगेको सहभागीहरूले बताए।

​शिविर उद्घाटन कार्यक्रममा वडाका जनप्रतिनिधिहरू कर्ण भण्डारी, अजित कुमार बिष्ट, बिष्णुमाया तिम्सिना ढुङ्गेल, गोविन्द घिमिरे, बण्डा मेचे, कुल बहादुर न्यौपाने र अभिषेक खतिवडा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, स्वास्थ्यकर्मी तथा स्थानीय सेवाग्राहीहरूको बाक्लो उपस्थिति रहेको थियो। वडा अध्यक्ष बिष्णु ओलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा सदस्य अजित कुमार बिष्टले स्वागत मन्तव्य राख्नुभएको थियो भने कार्यक्रमको सञ्चालन तथा सहजीकरण वडा सचिव राजन खतिवडाले गर्नुभएको थियो।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article