रिजन तिम्सिना ।झापा, दुर्गापुर । झापाको दुर्गापुरस्थित पि.ई.एफ. इङ्लिस हाई स्कुलले ‘सृजनाको नयाँ अभियान’ अन्तर्गत ‘लेखकसँग विद्यार्थी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न गरेको छ। विद्यार्थीहरूमा साहित्यिक चेत र सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चर्चित साहित्यकार मिलन संग्रौला प्रमुख अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रममा डिपिएल कनकाईका महासचिव तथा नवजागरण सामाजिक एकता क्लबका अध्यक्ष रिजन तिम्सिना, डिपिएल कनकाई साहित्यिक विभाग संयोजक डिल्लीराम चापागाईं लगायतको आतिथ्यता रहेको थियो।

शिक्षक राजेन्द्र सिटौलाले सञ्चालन गरेको उक्त कार्यक्रममा विद्यालयका प्रधानाध्यापक एवं डिपिएल कनकाई वर्ष २०२६ का अध्यक्ष ओम विक्रम नेपाल (नेम्वाङ) ले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।
कार्यक्रममा विद्यार्थीका तर्फबाट निरन्जना सुवेदी र आरुष उप्रेतीले आ-आफ्ना साहित्यिक रचना प्रस्तुत गरेका थिए। प्रमुख अतिथि साहित्यकार संग्रौलाले विद्यार्थीहरूसँग साहित्यप्रतिको रुचि, लेखन साधना, सिर्जनात्मक अभ्यास तथा आफ्ना साहित्यिक अनुभवहरू साटासाट गरेका थिए।

विद्यालय प्रशासनका अनुसार विगतका वर्षदेखि नै यस्ता साहित्यिक कार्यक्रम, कार्यशाला र अन्तरक्रियात्मक गतिविधिहरू सञ्चालन गरिँदै आएको र यसको सकारात्मक प्रभाव अघिल्लो शैक्षिक सत्रमा स्पष्ट देखिएको छ। यो उपलब्धिलाई मध्यनजर गर्दै आगामी दिनमा पनि यस्ता रचनात्मक कार्यक्रमहरूलाई निरन्तरता दिइने विद्यालयले जनाएको छ।
यस्ता कार्यक्रमले विद्यार्थीहरूमा साहित्यप्रतिको रुचि जगाउनुका साथै उनीहरूको सिर्जनशीलता र अभिव्यक्ति क्षमताको विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ।
