समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

झापा गाउँपालिकाद्वारा ५३ करोड ९३ लाखको बजेट सार्वजनिक : किशोरीलाई प्रोत्साहनदेखि निःशुल्क शव वाहनसम्म

नेत्र बिक्रम बिमली/झापा, ११ असार । ​झापा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ५३ करोड ९३ लाख ९९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। गाउँपालिकाले यस पटकको बजेटमा सामाजिक रूपान्तरण, कृषि र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सर्वसाधारणको दैनिक जीवनसँग जोडिएका लोकप्रिय कार्यक्रमहरू अघि सारेको छ।

Advertisement

​बालविवाह रोक्न अनौठो जुक्ति: २० वर्षमा विवाह गर्ने किशोरीलाई १० हजार : ​समाजमा जरा गाडेर बसेको बालविवाहको कुप्रथालाई न्यूनीकरण तथा अन्त्य गर्न झापा गाउँपालिकाले एउटा उदाहरणीय रणनीति अवलम्बन गरेको छ। आगामी आर्थिक वर्षको बजेट तथा वार्षिक कार्यक्रम अन्तर्गत गाउँपालिकाले २० वर्ष उमेर पूरा भएपछि मात्र विवाह गर्ने किशोरीहरूलाई प्रोत्साहन स्वरूप नगद १० हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेको छ।

Advertisement

​’बालविवाह अन्त्यका लागि २० वर्ष उमेर पूरा भई विवाह गर्ने किशोरीहरूलाई प्रति किशोरी रु. १०,०००/- (अक्षरेपि दश हजार) का दरले प्रोत्साहन’ दिने व्यवस्था बजेटमा गरिएको हो। यो विशेष लक्षित कार्यक्रमका लागि गाउँपालिकाले कुल २० लाख रुपैयाँ विनियोजन गरेको छ।

​कानुनी रूपमा विवाहको उमेर सुरक्षित गर्न र सानै उमेरमा हुने विवाहले किशोरीहरूको स्वास्थ्य, शिक्षा र भविष्यमा पार्ने नकारात्मक असरलाई रोक्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। यो प्रोत्साहन भत्ताले किशोरीहरूलाई परिपक्व उमेर पुगेर मात्र विवाह गर्न प्रेरित गर्ने र समुदायमा सचेतना फैलाउन मद्दत पुग्ने स्थानीय सरोकारवालाहरू बताउँछन्।

​गाउँपालिकावासीका लागि निःशुल्क शव वाहन सेवा : ​झापा गाउँपालिकावासीका लागि अर्को खुसीको खबर छ। अब गाउँपालिकाले आफ्नै शव वाहन खरिद गर्ने भएको छ, जसबाट पालिकावासीले पूर्ण रूपमा निःशुल्क शव वाहन सेवा प्राप्त गर्नेछन्।

​यसका लागि गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेटमार्फत ३५ लाख रुपैयाँ विनियोजन गरेको छ। यो सेवाबाट आर्थिक रूपमा विपन्न तथा अन्य सबै पालिकावासीलाई आफ्ना आफन्तको शव व्यवस्थापनमा ठूलो राहत र सहजता पुग्ने अपेक्षा गरिएको छ।

​किसानलाई राहत: सिँचाई विद्युत महशुलमा ८० प्रतिशत सहुलियत : ​कृषि क्षेत्रको विकास र किसानहरूलाई प्रोत्साहन गर्न गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि सिँचाईमा ठूलो राहत दिने घोषणा गरेको छ। बजेटमा सिँचाई व्यवस्थापनका लागि ८० प्रतिशत सहुलियतमा सिँचाई विद्युत महशुल व्यहोर्ने गरी ३० लाख रुपैयाँ विनियोजन गरिएको छ।

​गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार आगामी साउन महिनादेखि कृषकहरूले बुझाउनुपर्ने सिँचाई विद्युत महशुलको ८० प्रतिशत रकम गाउँपालिका आफैँले भुक्तानी गरिदिने भएको हो। अघिल्ला आर्थिक वर्षहरूमा सञ्चालन भई चालू आर्थिक वर्षमा रोकिएको यो लोकप्रिय कार्यक्रमलाई आगामी वर्षदेखि पुनः निरन्तरता दिन लागिएको हो।

​फोहोरमैला व्यवस्थापनका लागि जग्गा खरिद गरिँदै : बढ्दो फोहोर व्यवस्थापनको चुनौतीलाई दीर्घकालीन रूपमा समाधान गर्न गाउँपालिकाले डम्पिङ साइड निर्माणलाई पनि प्राथमिकतामा राखेको छ।

​बजेटमा डम्पिङ साइड स्थापनाका लागि आवश्यक जग्गा खरिद गर्न २० लाख रुपैयाँ विनियोजन गरिएको छ। यस कार्यक्रमले गाउँपालिकामा वातावरण संरक्षण तथा सरसफाइ प्रवर्द्धनमा टेवा पुग्ने विश्वास लिइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article