समाचार
हल्दिबारी संवाददाता १ महिना अगाडि

झापामै सबैभन्दा कम बजेट पाउने हल्दीबारीको बजेट ५२ करोड ९० लाख, चालु वर्षका ९० प्रतिशत योजना सम्पन्न

हल्दीबारी (झापा), असार ११ । झापाका १५ स्थानीय तहमध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने हल्दीबारी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ५२ करोड ९० लाख ५६ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ। सीमित स्रोत–साधनका बाबजुद गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरिएका विकास निर्माण तथा सेवा प्रवाहसम्बन्धी करिब ९० प्रतिशत योजना सम्पन्न गरेको जनाएको छ।

Advertisement


गाउँपालिकाले सार्वजनिक गरेको आय विवरणअनुसार आगामी आर्थिक वर्षका लागि कुल अनुमानित आय ५२ करोड ९० लाख ५६ हजार रुपैयाँ रहेको छ। बजेटको प्रमुख स्रोत संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजलस्व बाँडफाँट र आन्तरिक आय हुन्।

Advertisement


आन्तरिक आयतर्फ गाउँपालिकाले ७ करोड रुपैयाँ संकलन गर्ने लक्ष्य राखेको छ। यसमध्ये गाउँपालिकाबाट संकलन हुने आन्तरिक आय ४ करोड, मालपोत तथा रजिस्ट्रेसन शुल्कबाट २ करोड ७० लाख, बजार करबाट १० लाख र दहत्तर–बहत्तरबाट २० लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ।


राजस्व बाँडफाँटबाट गाउँपालिकाले १० करोड ९१ लाख ४९ हजार रुपैयाँ प्राप्त गर्ने अनुमान गरेको छ। यसमा संघीय सरकारबाट १० करोड १२ लाख १० हजार, वन रोयल्टीबाट ६ लाख तथा प्रदेश सरकारको सवारीसाधन करबाट ७८ लाख ७९ हजार रुपैयाँ समावेश छ।
अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत १२ करोड ३६ लाख ९१ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ। यसमा संघीय सरकारको वित्तीय समानीकरण अनुदान ११ करोड ३४ लाख तथा प्रदेश सरकारको वित्तीय समानीकरण अनुदान १ करोड २ लाख ९१ हजार रुपैयाँ रहेको छ।


त्यसैगरी संघीय सशर्त कार्यक्रमअन्तर्गत २० करोड ७१ लाख रुपैयाँ विनियोजन गरिएको छ। यसमा १९ करोड ११ लाख रुपैयाँ चालुतर्फ, २८ लाख रुपैयाँ पुँजीगततर्फ, ३५ लाख रुपैयाँ समपूरक अनुदान र ९७ लाख रुपैयाँ विशेष अनुदान समावेश गरिएको छ।
प्रदेश सशर्त कार्यक्रमतर्फ १ करोड ९१ लाख ६६ हजार रुपैयाँ प्राप्त हुने अनुमान छ। यसअन्तर्गत ५६ लाख ६६ हजार रुपैयाँ चालुतर्फ, ५५ लाख रुपैयाँ पुँजीगततर्फ र ५० लाख रुपैयाँ समपूरक अनुदानतर्फ विनियोजन गरिएको छ।


गाउँपालिकाका अनुसार सीमित बजेटका बाबजुद चालु आर्थिक वर्षमा सडक, खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासका अधिकांश योजना सम्पन्न भएका छन्। हालसम्म करिब ९० प्रतिशत योजना कार्यान्वयन भइसकेका छन् भने बाँकी योजनाहरू आर्थिक वर्षभित्रै सम्पन्न गरिने लक्ष्य राखिएको छ।


झापाका स्थानीय तहमध्ये सबैभन्दा कम बजेट प्राप्त गर्ने गाउँपालिका भए पनि उपलब्ध स्रोतको प्रभावकारी परिचालन गर्दै विकास निर्माण र सेवा प्रवाहलाई प्राथमिकतामा राखिएको गाउँपालिकाको दाबी छ। आगामी आर्थिक वर्षको बजेटले कृषि उत्पादन वृद्धि, ग्रामीण पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर सुधार तथा रोजगार सिर्जनामा विशेष जोड दिएको जनाइएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article