समाचार
हल्दिबारी संवाददाता ४ हप्ता अगाडि

कार्गोमार्फत अमेरिका गहना तस्करी: झापाका दाहालसहित दुई व्यवसायी विमानस्थलबाट पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधानिक रूपमा कार्गोमार्फत संयुक्त राज्य अमेरिका पठाउन लागिएको ठूलो परिमाणको सुन तथा चाँदीका गहनासहित प्रहरीले दुई जना व्यवसायीलाई पक्राउ गरेको छ। विमानस्थल सुरक्षा कार्यालयका अनुसार लुकाइछिपाइ बाहिर पठाउन लागिएको पहेँलो र सेतो धातुका विभिन्न गहनासहित युनिक कार्गो झापा (बौद्ध) का सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल र एपेक्स लजिस्टिक प्रा.लि.का सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी पक्राउ परेका हुन्। मंगलबार साँझ साढे ५ बजे विमानस्थलको कार्गो कम्प्लेक्स भवनमा चेकजाँचका क्रममा उक्त अवैध धातु बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक राज कुमार सिलवालले जानकारी दिनुभयो।

Advertisement

​बौद्धस्थित युनिक कार्गो झापामार्फत एपेक्स लजिस्टिकले अमेरिका पठाउन लागेको कार्गो बाकसमा जुत्ता, पाइन्ट, सारी र अन्य कपडाहरू रहेको घोषणा गरिएको थियो। तर, विमानस्थलको एक्स–रे मेसिनमा चेकजाँच गर्दा मेनिफेस्टोमा उल्लेख भएबमोजिमका सामान नदेखिएपछि प्रहरीलाई शंका लागेको थियो। शंकास्पद बाकस खोलेर हेर्दा कपडाको भित्र लुकाएर राखिएको अवस्थामा विभिन्न परम्परागत नेपाली डिजाइनका सुन तथा चाँदी जस्ता देखिने धातुका तयारी गरगहनाहरू फेला परेका थिए। घोषणा गरिएका सामानबाहेक बहुमूल्य धातु तस्करी गर्न लागिएको पुष्टि भएपछि प्रहरीले तत्कालै सामान नियन्त्रणमा लिएको हो।

Advertisement

​बरामद गरिएका गहनाहरूमा नेपाली मौलिक र सांस्कृतिक स्वरूपका धेरै सामाग्रीहरू रहेका छन्। प्रहरीका अनुसार सुन जस्तो देखिने पहेँलो धातुका गहनाहरूमा ठूला र साना गरी ६६ थान नौगेडी, २१ गेडी १४ थान, चन्द्रमा १६ थान, जन्तर २० थान, सिंगल र डबल ब्रोच ३६ थान, र ७ थान शिरफूल रहेका छन्। त्यसैगरी नेपालको झण्डा अंकित ब्रोच १६ थान, खुकुरी आकारको ब्रोच २३ थान, मंगलसूत्र १८ थान, मोतीमाला ३९ थान, रानीहार १ थान र त्रिशूल १ थान समेत बरामद गरिएको छ। सेतो रंगको चाँदी जस्तो देखिने धातुका गहनाहरूमा गोलो र चारपाटे नेक्लेस १३ थान, काँडावाला चुरा २६ थान, यार्लिङसहितको शिरबन्दी ३ सेट, झुम्का ३ जोर, तिलहरी ४ थान र घाँटीमा लगाउने सिक्री १ थान फेला परेको प्रहरीले जनाएको छ।

​बरामद गरिएका गहनाहरूको यकिन तौल र गुणस्तर परीक्षण गर्ने काम भइरहेको छ। पक्राउ परेका दुवै सञ्चालक र बरामद गरिएका गहनाहरूलाई आवश्यक कानुनी कारबाही र थप अनुसन्धानका लागि बुधबार त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article