समाचार
हल्दिबारी संवाददाता ३ हप्ता अगाडि

ईलामको आवाज ब्यान्डलाई ‘टिभिएस झापा रकस्टार सिजन–३’ को उपाधि

बिर्तामोड। पूर्वकै चर्चित सांगीतिक ब्यान्ड प्रतियोगिता ‘टिभिएस झापा रकस्टार सिजन–३’ को उपाधि इलामको आवाज ब्यान्डले जितेको छ।

Advertisement

​बिर्तामोडस्थित अग्रसेन भवनमा शुक्रबार साँझ भव्य रूपमा सम्पन्न ग्रान्ड फिनालेमा अन्य पाँच प्रतिस्पर्धी ब्यान्डलाई पछि पार्दै आवाज ब्यान्डले उपाधि चुमेको हो। प्रतियोगितामा चारआलीको यात्री ब्यान्ड फस्ट रनरअप र धुलाबारीको जेनियम ब्यान्ड सेकेन्ड रनरअप बनेका छन्।

Advertisement

​उपाधिसँगै विजेता आवाज ब्यान्डले नगद ५० हजार रुपैयाँ, ट्रफी, म्युजिक भिडियो निर्माण गर्ने अवसरसहित विभिन्न आकर्षक पुरस्कार प्राप्त गरेको छ। त्यस्तै, फस्ट रनरअप बनेको यात्री ब्यान्डले नगद ३० हजार रुपैयाँ र सेकेन्ड रनरअप जेनियाम ब्यान्डले नगद २० हजार रुपैयाँसहित ट्रफी हात पारे। विजेता ब्यान्डहरूलाई विभिन्न ब्रान्डका गितार र पोर्टफोलियो सुट प्रदान गरिएको छ। उत्कृष्ट ब्यान्डलाई प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा मोटर्सअन्तर्गतको टिभिएस (TVS) को ब्रान्ड गीत रचना तथा निर्माण गर्ने अवसरसमेत दिइने आयोजकले घोषणा गरेको छ।

​विधागत पुरस्कारतर्फ बिर्तामोडको बास क्लेफ ब्यान्डले मल्टिमिडिया अवार्ड प्राप्त गर्‍यो। चारआलीको यात्री ब्यान्डले बेस्ट सङ राइटर, बेस्ट गिटारिस्ट र बेस्ट ड्रमर विधामा क्लिन स्वीप गर्दा इलामको आवाज ब्यान्डले बेस्ट भोकलिस्ट र बेस्ट बासिस्टको अवार्ड आफ्नो नाममा पार्यो।

​कोशी प्रदेशस्तरीय यस प्रतियोगिताको फाइनलमा इलामको आवाज, चारआलीको यात्री, धुलाबारीको जेनियम, बिर्तामोडको बास क्लेफ र राग भर्स ब्यान्डबीच उपाधिका लागि रोचक प्रतिस्पर्धा भएको थियो। नेपालकै पहिलो ड्रमर देव राना प्रमुख अतिथि रहेको कार्यक्रममा संगीतकार संजीव सुब्बा, गायक तथा संगीतकार सहदेव लामा र अर्जुन दाहाल निर्णायक मण्डलमा रहेका थिए।

​गत वैशाख ५ गतेदेखि डिजिटल आवेदन खुला गरिएको प्रतियोगिताको सिजन–३ मा जम्मा १२ वटा ब्यान्ड सहभागी थिए। असार १५ गते सम्पन्न फिजिकल अडिसनपछि उत्कृष्ट पाँच ब्यान्डले ग्रान्ड फिनालेको यात्रा तय गरेका थिए।

​अमृत स्टोरको प्रस्तुति तथा एनएसएस इभेन्ट्सको व्यवस्थापनमा सम्पन्न प्रतियोगिताको मुख्य प्रायोजक जगदम्बा मोटर्सको टिभिएस रहेको थियो। फिनालेकै अवसरमा टिभिएसले आफ्नो नयाँ ‘अपाचे आरटिआर १६० ४भी’ मोटरसाइकलको क्षेत्रीय बजारमा औपचारिक सार्वजनिक समेत गरेको थियो।

​कार्यक्रममा टिभिएसका नेशनल सेल्स हेड हरि न्यौपानेले प्रतियोगितामार्फत युवासँग जोडिन पाएकोमा खुसी व्यक्त गर्दै उत्कृष्ट ब्यान्डलाई टिभिएसको ब्रान्ड गीत निर्माणको जिम्मेवारी दिइने बताए।

​प्रतियोगिताका निर्देशक सुनिता तामाङले सञ्चालन गरेको कार्यक्रममा आयोजक समितिका अध्यक्ष अमृत पौडेलले ‘झापा रकस्टार’ केवल एउटा प्रतियोगिता मात्र नभई कोशी प्रदेशका नयाँ प्रतिभा र संगीतप्रेमीलाई एउटै मञ्चमा जोडेर राष्ट्रिय स्तरमा पुर्‍याउने सांगीतिक उत्सवका रूपमा स्थापित हुँदै गएको धारणा राखे।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article