एजेन्सी । नयाँ दिल्ली । भारतमा बहुचर्चित नीट (NEET) परीक्षाको प्रश्नपत्र बाहिरिएको विषयलाई लिएर विगत २८ जुनदेखि अनिश्चितकालीन भोक हडतालमा बसेका सामाजिक अभियन्ता सोनम वाङचुकलाई भेट्न भारत सरकारले उच्चस्तरीय राजनीतिक पहल सुरु गरेको छ। मङ्गलबार राति केन्द्रीय मन्त्रीद्वय जेपी नड्डा र जितेन्द्र सिंहले गुरुग्रामस्थित मेदान्ता अस्पताल पुगी वाङचुकसँग भेटघाट तथा कुराकानी गरेका छन्।

दिल्ली उच्च अदालतको आदेशपछि वाङचुकलाई मङ्गलबार साँझ दिल्लीको सफदरजङ अस्पतालबाट कडा सुरक्षाबीच मेदान्ता अस्पताल स्थानान्तरण गरिएको थियो। त्यसलगत्तै दुवै मन्त्री उहाँको स्वास्थ्य अवस्था बुझ्न र विषयवस्तुमाथि छलफल गर्न अस्पताल पुगेका हुन्।

यसअघि वाङचुककी पत्नी गीताञ्जली अङ्गमोलले आफ्ना पतिलाई आफूले रोजेको अस्पतालमा उपचार गराउन पाउनुपर्ने माग गर्दै अदालतमा याचिका दायर गर्नुभएको थियो। सोही याचिकामाथि सुनुवाइ गर्दै अदालतले भारतीय संविधानको धारा १९ र २१ ले दिएको मौलिक अधिकारको संरक्षण हुनुपर्ने ठहर गरी वाङचुकलाई तुरुन्त मेदान्ता सार्न आदेश दिएको हो।
सफदरजङ अस्पतालले उपलब्ध गराएको स्वास्थ्य विवरणअनुसार डिस्चार्ज गर्दा वाङचुकको शारीरिक अवस्था स्थिर रहे पनि रगतमा देखिने ‘प्यानसाइटोपेनिया’ को समस्या भने कायमै छ। हाल मेदान्ता अस्पतालका वरिष्ठ चिकित्सक डा. सुशीला कटारियाको टोलीले उहाँको हेरचाह गरिरहेको छ।
प्रश्नपत्र काण्डलाई लिएर दिल्लीको जन्तरमन्तरमा ककरोच जनता पार्टी (CJP) ले प्रदर्शन जारी राखेको छ भने संसद् परिसरमा प्रमुख प्रतिपक्षी दल कंग्रेसका नेता राहुल गान्धीसहितका विपक्षी सांसदहरूले समेत विरोध प्रदर्शन तीव्र पारेका छन्। स्थिति संवेदनशील बनेपछि मेदान्ता अस्पताल वरपर ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरी सुरक्षा व्यवस्था कडा पारिएको छ।
