काठमाडौं, ९ साउन । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको आयोजनामा फोटो पत्रकारहरूका लागि दुई दिने ‘एआई सीप: व्यावसायिक क्षमता अभिवृद्धि कार्यशाला’ शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ। साउन ९ र १० गतेसम्म चल्ने उक्त कार्यशाला सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा बिहान ७ बजेदेखि १२ बजेसम्म सञ्चालन भइरहेको छ। कार्यशालाको प्रायोजन पनि सोही स्कुलले गरेको हो।

कार्यशालामा आईटी विशेषज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गरिरहेका छन्। दुई दिनसम्म चल्ने कार्यक्रममा फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको क्याप्सन लेखन, समाचार भिडियो निर्माण, गुणस्तरीय अडियो रेकर्डिङ र मोबाइल पत्रकारिताबारे व्यावहारिक प्रशिक्षण दिइनेछ। यसका साथै एआईमार्फत फोटो तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण (फ्याक्ट चेकिङ), एआईको नैतिक प्रयोग र डिजिटल पत्रकारिताको भविष्यबारे पनि सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गराइने आयोजकले जनाएको छ।

कार्यशालाका सहभागीहरूलाई वास्तविक समाचार सामग्रीमा आधारित रहेर व्यावसायिक क्याप्सन लेखन, भिडियो स्टोरी निर्माण र एआई उपकरणहरूको सुरक्षित एवं जिम्मेवार प्रयोगबारे प्रशिक्षित गराइनेछ। न्यूजरुममा एआईको प्रयोग गरी उत्पादकत्व बढाउनुका साथै सम्पादकीय मापदण्ड कसरी कायम राख्ने भन्ने विषयमा पनि छलफल हुनेछ।
एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले बदलिँदो सञ्चार प्रविधिसँगै फोटो पत्रकारहरूलाई एआईमैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको बताएका छन्। आधुनिक फोटो पत्रकारितामा एआईको जिम्मेवार, नैतिक र प्रभावकारी प्रयोगलाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरको पत्रकारिता अभ्यास विकास गर्न कार्यशालाले महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास उनले व्यक्त गरे। एनएफपिजे नेपालका सदस्य फोटो पत्रकारहरूको सहभागिता रहेको यो कार्यशाला भोलि शनिबार (साउन १० गते) समापन हुनेछ।
