स्वास्थ्य
हल्दिबारी संवाददाता ३ घण्टा अगाडि

सेतो लामखुट्टेको टोकाइले झापामा त्रास: हल्दीबारीकी प्रमिला राजवंशी अस्पतालमा जीवनसँग सङ्घर्ष गर्दै

झापा (हल्दीबारी) — झापाको हल्दीबारी गाउँपालिका–२ कदमचोकमा व्यवसाय गर्दै आएकी नेपाली काङ्ग्रेसकी सक्रिय कार्यकर्ता प्रमिला कुमारी राजवंशी यतिबेला प्रादेशिक अस्पताल भद्रपुरको सघन उपचार कक्षमा जीवन र मृत्युको दोसाँचोमा छिन। लामो समयदेखि अस्वस्थ रहेकी उनलाई हालै जापानीज इन्सेफलाइटिसको सङ्क्रमण पुष्टि भएपछि उपचारका लागि भद्रपुरस्थित प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो। पारिवारिक स्रोत र उपचारमा संलग्न चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था अत्यन्तै चिन्तित र जटिल बनेको छ।

Advertisement

​नेपाली काङ्ग्रेस आबद्ध लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घका पूर्व केन्द्रीय सदस्य तथा स्थानीय काङ्ग्रेस नेता मोहन कुमार राजवंशीकी श्रीमती प्रमिलालाई दुई दिनअघि एक्कासि स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो। त्यसलगत्तै हल्दीबारी गाउँपालिका स्वास्थ्य शाखाको प्रत्यक्ष समन्वय र तत्परतामा उनलाई थप उपचारका लागि प्रादेशिक अस्पताल पुर्‍याइएको थियो। सेतो लामखुट्टेको टोकाइका कारण श्रीमती अहिले जीवनको अन्तिम लडाइँ लडिरहेको र डाक्टरहरूले अवस्था निकै नाजुक रहेको बताएको उनका श्रीमान् मोहन कुमार राजवंशीले भावुक हुँदै जानकारी दिएका छन्।

Advertisement

​हल्दीबारी गाउँपालिकाभित्रै जापानीज इन्सेफलाइटिसको यति गम्भीर केस भेटिएपछि अहिले सिङ्गो गाउँपालिका क्षेत्रमै तीव्र त्रास र चिन्ता फैलिएको छ। विशेष गरी धानखेत तथा सुँगुर-बङ्गुर र हाँस-कुखुरापालन गरिने ग्रामीण क्षेत्रमा क्युलेक्स प्रजातिको सेतो लामखुट्टेको जोखिम उच्च हुने भएकाले हल्दीबारीमा सङ्क्रमण थप फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने चुनौती थपिएको छ। गाउँपालिका स्वास्थ्य शाखाले बिरामीको तत्काल उद्धार गरी अस्पताल भर्नामा सहजीकरण गरे पनि अब समग्र गाउँपालिकाभरि नै लामखुट्टे नियन्त्रणका लागि कीटनाशक औषधि छर्कने, घरवरिपरि पानी जम्न नदिने र सुत्दा अनिवार्य झुलको प्रयोग गर्न सचेतना फैलाउने जस्ता ठोस कदम द्रुत गतिमा चाल्नुपर्ने आवश्यकता देखिएको छ।

​सामाजिक तथा राजनीतिक क्षेत्रमा सक्रिय व्यक्तित्व प्रमिला राजवंशीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थानीयवासीले हल्दीबारी गाउँपालिकालाई सम्भावित महामारी रोक्न स्वास्थ्य सुरक्षाका उपायहरू तत्काल लागू गर्न जोडदार माग गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article