समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

संघीय सांसद निशा डाँगीको पहलमा निर्माण सुरु भएको १ करोडको विश्रान्ति घाट अलपत्र

हल्दीबारी, झापा । झापाको हल्दीबारी गाउँपालिका–२ स्थित पारखोपी पूर्व देउनिया खोलामा संघीय सांसद निशा डाँगीको पहलमा संघीय सरकारको १ करोड रुपैयाँ बजेटबाट निर्माण सुरु गरिएको विश्रान्ति घाट लामो समयदेखि अलपत्र अवस्थामा रहेको छ। निर्माण कार्य अधुरै छाडिएपछि स्थानीयवासीमा निराशा बढ्दै गएको छ भने योजना सम्पन्न हुनेमा समेत अन्योल देखिएको छ।

Advertisement

स्थानीयका अनुसार हाल निर्माणाधीन घाट अझै पूर्ण हुन सकेको छैन। यसअघि सोही क्षेत्रको दक्षिणतर्फ प्रदेश सरकारको करिब ३० लाख रुपैयाँ लागतमा निर्माण गरिएको अर्को विश्रान्ति घाट पनि प्रयोगविहीन र जीर्ण अवस्थामा छ। एउटै स्थानमा दुई–दुईवटा योजना निर्माण भए पनि कुनै पनि पूर्ण रूपमा सञ्चालनमा आउन नसक्दा सरकारी लगानीमाथि प्रश्न उठ्न थालेको छ।

Advertisement

सरोकारवालाका अनुसार हाल निर्माणाधीन घाटलाई पूर्णता दिन अझै करिब ५० लाख रुपैयाँ आवश्यक पर्ने अनुमान छ। तर उक्त रकमको व्यवस्थापन कसरी हुन्छ र निर्माण कार्य कहिले सम्पन्न हुन्छ भन्नेबारे कुनै स्पष्टता छैन।

स्थानीयवासीले अहिले सबैभन्दा बढी चासो संघीय सांसद निशा डाँगीतर्फ केन्द्रित गरेका छन्। उहाँकै पहलमा बजेट विनियोजन भएर सुरु भएको योजना अलपत्र अवस्थामा पुगेकाले अब यसलाई पूर्णता दिन सांसद डाँगीले कस्तो पहल गर्नुहुन्छ भन्ने प्रश्न उठेको छ।

स्थानीयको भनाइ छ, “बजेट ल्याउनु मात्र पर्याप्त हुँदैन, योजना सम्पन्न गराएर जनताले उपयोग गर्न सक्ने अवस्था सिर्जना गर्नु जनप्रतिनिधिको दायित्व पनि हो।”

स्थानीयले संघीय सांसद निशा डाँगी, प्रदेश सरकार, हल्दीबारी गाउँपालिका र सम्बन्धित निकायसँग निर्माण कार्य तत्काल सम्पन्न गरी विश्रान्ति घाट सञ्चालनमा ल्याउन माग गरेका छन्। करोडौँ रुपैयाँ खर्च गरेर अधुरै छोडिने यस्ता योजनाप्रति सम्बन्धित निकायले जवाफदेही बन्नुपर्ने उनीहरूको जोड छ।

अब प्रश्न उठेको छ—संघीय सांसद निशा डाँगीले आफ्नै पहलमा सुरु भएको यो योजना सम्पन्न गराउन थप बजेट र आवश्यक पहल गर्नुहुन्छ, कि यो पनि अर्को बेवारिसे सरकारी योजनाका रूपमा सीमित हुनेछ? यसको जवाफको प्रतीक्षामा स्थानीयवासी रहेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article