अभिषेक खतिवडा / झापा । झापाको हल्दिबारी गाउँपालिका–३ स्थित देउनिया मुक्तिघाट दाहसंस्कार स्थलको पुनर्निर्माण तथा मर्मतसम्भार कार्य सम्पन्न भएको छ।

कोशी प्रदेश सरकार, पर्यटन, वन तथा वातावरण मन्त्रालयको बजेटमार्फत प्राविधिक अनुगमनसहित निर्माण तथा मर्मतसम्भारको काम सम्पन्न गरिएको हो।

उपभोक्ता समितिमार्फत निर्माण कार्य सुरु गरिएको उक्त दाहसंस्कार स्थलका लागि प्रदेश सरकारबाट सुरुमा १९ लाख ७९ हजार रुपैयाँ बजेट प्राप्त भएको उपभोक्ता समितिकी अध्यक्ष रोशन शिवाकोटी (रोशनी) ले जानकारी दिइन्।
निर्माण सम्पन्न भएलगत्तै बनेका संरचना अपेक्षाअनुसार गुणस्तरीय नभएको भन्दै सामाजिक सञ्जाल र स्थानीयस्तरमा व्यापक आलोचना भएको थियो। स्थानीयको असन्तुष्टिपछि झापा क्षेत्र नं. ३ (ख) का प्रदेश सांसद छवि चुडालले संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भारका लागि विशेष पहल गरेका थिए। सांसद चुडालकै पहलमा प्रदेश सरकारबाट थप ७ लाख रुपैयाँ बजेट विनियोजन भई आवश्यक पुनर्निर्माण र मर्मतको काम पूरा गरिएको हो।
यस्तै, निर्माणका क्रममा देखिएका विभिन्न प्राविधिक तथा व्यावहारिक समस्या समाधान गर्दै योजना कार्यान्वयन गराउन हल्दिबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) ले समेत समन्वयकारी र महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
पुनर्निर्माण तथा मर्मतसम्भार सम्पन्न भएसँगै अब देउनिया मुक्तिघाटमा निर्मित संरचनाको उचित सञ्चालन, संरक्षण र व्यवस्थापनमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने आवश्यकता देखिएको छ।
मुक्तिघाट कुनै व्यक्ति, समिति वा निकायविशेषको मात्र नभई सम्पूर्ण स्थानीय समुदायको साझा र संवेदनशील सम्पदा भएकाले यसको रेखदेख र व्यवस्थापनमा सबैको अपनत्व आवश्यक रहेको प्रमुख प्रशासकीय अधिकृत वनले बताएका छन्।
