कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

​’हली’ को प्रचारप्रसार हल्दीबारीबाट सुरु, साउन २२ गतेदेखि प्रदर्शनमा आउने

झापा । झापाका स्थानीय चेलीहरूद्वारा निर्मित नेपाली कथानक चलचित्र ‘हली’ को मोफसल प्रचारप्रसार अभियान हल्दीबारी गाउँपालिका-१ स्थित जनजागृति माध्यमिक विद्यालयबाट सुरु गरिएको छ। सामाजिक तथा सांस्कृतिक मुद्दामा आधारित उक्त चलचित्र आगामी साउन २२ गतेदेखि देशभरका सिनेमा घरहरूमा प्रदर्शनमा आउने तयारीमा छ।

Advertisement

​झापाली चेलीहरू जस्विन श्रेष्ठ र पूजा गुरुङले संयुक्त रूपमा निर्माण गरेको यस चलचित्रमा नेपाली सिने जगतका वरिष्ठ अभिनेता सरोज खनालको मुख्य भूमिका रहेको छ। ओम प्रतीक गुरुङको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रमा प्रमोददीप र सुजाता थापाले नायक-नायिकाको भूमिका निर्वाह गरेका छन्।

Advertisement

​नेपाली समाजमा ‘हली’ शब्दको अर्थ र उनीहरूले आफ्ना सन्तानको उज्ज्वल भविष्यका लागि गर्ने त्याग तथा सङ्घर्षलाई चलचित्रको मुख्य विषयवस्तु बनाइएको छ। साथै, सुदूरपश्चिम तथा पश्चिमाञ्चल क्षेत्रमा विद्यमान छाउपडी प्रथाका कारण किशोरीहरूले भोग्नुपरेका चरम दुर्व्यवहार र सामाजिक सास्तीलाई समेत चलचित्रमा मार्मिक रूपमा समेटिएको निर्माण पक्षले जनाएको छ।

​सोमबार जनजागृति मावि (गोलधाप) मा आयोजित प्रचारप्रसार कार्यक्रममा हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनले प्रमुख अतिथिका रूपमा बोल्दै आफूले चलचित्र हेर्ने र अरूलाई पनि हेर्न प्रोत्साहन गर्ने प्रतिबद्धता जनाए। “हामी विदेशी र भारतीय चलचित्रप्रति बढी आकर्षित भइरहेको अवस्थामा हाम्रै झापाली चेलीहरूले यति राम्रो सामाजिक चलचित्र बनाएका छन्,” अध्यक्ष लिङ्देनले भने, “स्वदेशी कला र संस्कृतिलाई जोगाउन पनि नेपाली चलचित्रलाई माया गर्नुपर्छ।”

​कार्यक्रममा बोल्दै वरिष्ठ अभिनेता सरोज खनालले झापासँग आफ्नो गहिरो भावनात्मक नाता रहेको बताउँदै झापाली दर्शकहरूले चलचित्रलाई रुचाउने विश्वास व्यक्त गरे। साना नानीहरूको कथा र सामाजिक यथार्थलाई पर्दामा उतार्न इमानदार प्रयास गरिएको बताउँदै उनले सम्पूर्ण दर्शकलाई सिनेमा हलसम्म पुगेर ‘हली’ हेरिदिन आग्रह गरे।

​चलचित्रकी लगानीकर्ता तथा बिर्तामोडकी चेली जस्विन श्रेष्ठले चलचित्रको उद्देश्य र निर्माण यात्राबारे स्पष्ट पार्दै सहभागीहरूलाई स्वागत गरेकी थिइन्। जनजागृति माविका प्रधानाध्यापक राम बहादुर दाहालले चलचित्रको सफलताको शुभकामना व्यक्त गरेका थिए।

​वडा नं. १ का वडाध्यक्ष देवीबहादुर थापाको अध्यक्षतामा सम्पन्न प्रचारप्रसार कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक झमक तिम्सिनाले गरेका थिए। प्रचारप्रसार टोलीले झापाका केर्खा लगायत विभिन्न स्थानका विद्यालय तथा सार्वजनिक स्थलहरूमा पुगेर प्रचारप्रसारलाई तीव्र बनाउने जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article