समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

देवानगञ्ज घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न राप्रपाको माग

झापा , १२ साउन — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका-३ कप्तानगञ्जमा हालै भएको हिंसात्मक घटनाको निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेको छ।

Advertisement

​राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार एक विज्ञप्ति जारी गर्दै कप्तानगञ्ज घटनामा एक युवाको मृत्यु हुनुका साथै अन्य व्यक्तिहरू घाइते भएको घटनाप्रति पार्टी मर्माहत र चिन्तित भएको जनाएका छन्। विज्ञप्तिमा मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

Advertisement

​राप्रपाले मृतकका परिवारलाई यथोचित राहत, क्षतिपूर्ति र न्यायको सुनिश्चितता गर्न तथा घाइतेहरूको निःशुल्क र गुणस्तरीय उपचारको व्यवस्था तत्काल मिलाउन सरकारसँग आग्रह गरेको छ।

​”यस घटनाको सत्यतथ्य छानबिन गरी कानुनविपरीत हिंसा भड्काउने, हत्या, आगजनी वा सामाजिक सद्भाव बिथोल्ने जुनसुकै व्यक्ति वा समूह भए पनि कानुनबमोजिम कडा कारबाही गरिनुपर्छ,” विज्ञप्तिमा भनिएको छ, “दण्डहीनताको संस्कृतिले यस्ता घटनालाई प्रोत्साहन गर्ने भएकाले दोषीलाई कुनै पनि बहानामा उन्मुक्ति दिनु हुँदैन।”

​विशेष गरी तराई-मधेसका क्षेत्रमा चाडपर्व वा धार्मिक अवसरका बेला पटक-पटक तनाव र साम्प्रदायिक विवाद हुनु तथा हरेक घटनाको निशानामा हिन्दु समुदाय पर्नु दुःखद र आपत्तिजनक रहेको राप्रपाको ठहर छ।

​धार्मिक संवेदनशीलतामाथि प्रहार भइरहेका यस्ता घटनाको पृष्ठभूमि, योजनाबद्ध पक्ष र सुरक्षा व्यवस्थाको कमजोरीबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सर्वपक्षीय समिति गठन गरेर तत्काल संवाद थाल्न पनि राप्रपाले सरकारको ध्यानाकर्षण गराएको छ।

​प्रत्येक नेपालीले आफ्नो धर्म र संस्कृतिको अभ्यास निर्भयपूर्वक गर्न पाउने वातावरण राज्यले सुनिश्चित गर्नुपर्ने उल्लेख गर्दै राप्रपाले शृङ्खलाबद्ध हिंसात्मक घटनाप्रति राज्यको उदासीनताले देश द्वन्द्वतर्फ उन्मुख हुन सक्ने चेतावनीसमेत दिएको छ। अध्यक्ष लिङ्देनले परिस्थितिको संवेदनशीलतालाई ध्यान दिँदै सामाजिक एकता, आपसी सद्भाव र संयम कायम राख्न आम जनसमुदायमा अपीलसमेत गरेका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article