नेत्र बिक्रम बिमली । हल्दीबारी (झापा) — ३६ वर्षअघि अक्षर चिनाएका, जीवनको गोरेटो कोरिदिने र भविष्यको जग हालिदिएका गुरुहरूलाई सामुन्ने पाउँदा विद्यार्थीहरू भावुक बने। समयको लामो अन्तरालपछि आफ्ना पुराना गुरुजनसामु उभिएर उनीहरूले शीर निहुराए र भावपूर्ण शब्दमा भने— “हामी आज जहाँ छौँ, तपाईँहरूकै पसिना र मार्गदर्शनका कारण छौँ।”


गुरुपूर्णिमाको पावन अवसरमा झापाको हल्दीबारी माध्यमिक विद्यालयका २०४७ सालका एसएलसी (SLC) ब्याजी विद्यार्थीहरूले आफ्ना तत्कालीन गुरुहरूलाई एक विशेष समारोहका बिच सम्मान गरेका हुन्। सामाजिक गतिविधिमा समेत सक्रिय रहँदै आएको ‘२०४७ एसएलसी विद्यार्थी समाज’ले विद्यालय परिसरमै कार्यक्रम आयोजना गरी आफ्ना श्रद्धेय शिक्षकहरूप्रति कृतज्ञता प्रकट गरेको हो।


कार्यक्रममा विद्यालयका संस्थापक प्रधानाध्यापक नरेन्द्रकुमार कार्कीसहित गुरुहरू धनबहादुर आचार्य, कमलबहादुर राई, निर्मल खतिवडा, बद्री उप्रेती, भीष्म उप्रेती, श्रीप्रसाद शिवाकोटी र भीमबहादुर श्रेष्ठलाई नेपाली ढाका टोपी, फूलमाला, रुद्राक्षको माला र मायाको चिनो प्रदान गरी सम्मान गरिएको थियो।

उमेरले नेटो काट्दै गर्दा आफ्नै पुराना चेलाहरूबाट ३६ वर्षपछि यसरी सम्मानित हुन पाउँदा पूर्व शिक्षकहरू भावविह्वल देखिन्थे। कार्यक्रममा बोल्दै संस्थापक प्रधानाध्यापक नरेन्द्रकुमार कार्की, कमलबहादुर राई, बद्री उप्रेती र भीष्म उप्रेतीले विगतका कठिन दिनहरू स्मरण गरे।

“त्यसबेलाको सीमित स्रोत-साधन र कठिन परिस्थितिमा पनि हामीले इमानदार भएर पढाउने प्रयास गर्यौँ,” सम्मानित गुरुहरूले भने, “आज ३६ वर्षपछि हाम्रा तिनै चेलाहरूले गुरुपूर्णिमाका दिन सम्झेर सम्मान गर्दा साँच्चै गुरुभेटी पाएको अनुभूति भएको छ। योभन्दा ठूलो खुसी र आनन्द एउटा शिक्षकका लागि केही हुन सक्दैन।”

विद्यालयका पूर्वविद्यार्थी एवं हल्दीबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन (महेन्द्र) को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सहजीकरण हल्दीबारी माध्यमिक विद्यालयका वर्तमान प्रधानाध्यापक टंकबहादुर पाख्रिनले गर्नुभएको थियो।

विगत र वर्तमानको सुखद संगम बनेको उक्त कार्यक्रममा सहभागी पूर्वविद्यार्थीहरूले आफ्ना गुरुहरूको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक र रचनात्मक कार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
