लेख
जनक राजवंशी १ घण्टा अगाडि

मलाई मायाको अर्थ बुझाउने तिमी पनि मेरो “गुरु”

✍अभिषेक खतिवडा । आज गुरु पूर्णिमाको पावन अवसरमा म केवल जन्म दिएर पहिलो गुरु बन्ने मेरा बुबा आमा देखि विद्यालयमा अक्षर चिनाउने शिक्षक–शिक्षिकालाई सम्म लाई मात्र होइन, जीवनका हरेक मोडमा कुनै न कुनै रूपमा मलाई केही सिकाउने सम्पूर्ण व्यक्तित्वहरूप्रति श्रद्धाभाव व्यक्त गर्न चाहन्छु। किनकि गुरु केवल त्यो होइन, जसले किताबका अक्षर पढाउँछ ।गुरु त्यो पनि हो, जसले जीवनका अनुभवहरू पढ्न सिकाउँछ, सही–गलत छुट्याउन सिकाउँछ, आफूभित्रको मानिसलाई चिन्न सिकाउँछ र परिपक्व बन्ने बाटो देखाउँछ।

Advertisement

मानिस जन्मिएदेखि नै सिकाइको यात्रा सुरु हुन्छ। आमाको काख पहिलो विद्यालय हो, बुबाको अनुशासन पहिलो पाठ हो, शिक्षकको शिक्षा पहिलो मार्गदर्शन हो, समाज पहिलो परीक्षा हो, र जीवन स्वयं सबैभन्दा ठूलो विश्वविद्यालय हो। यस यात्रामा भेटिने प्रत्येक व्यक्ति कुनै न कुनै रूपमा हाम्रो गुरु बन्छ। कसैले ज्ञान दिन्छ, कसैले प्रेरणा दिन्छ, कसैले अवसर दिन्छ, कसैले चुनौती दिन्छ, त कसैले पीडा दिएर पनि जीवन बुझ्न सिकाउँछ।
ती सबै गुरुहरूमध्ये तिमी पनि एक हौ। तिमीले मलाई केवल प्रेम गर्न होइन, प्रेमको वास्तविक अर्थ बुझ्न सिकायौ। आत्मीयताको मूल्य, विश्वासको शक्ति, प्रतीक्षाको धैर्य, सम्बन्धको जिम्मेवारी, मौनताको भाषा, आत्मसम्मानको गरिमा र कसैको उपस्थितिले जीवनमा कति उज्यालो थपिन्छ भन्ने अनुभूति गरायौ। त्यसैले आजको दिन तिमीलाई पनि मेरो जीवनको एक सम्मानित गुरुका रूपमा सम्झन मन लागिरहेको छ।

Advertisement

मानव जीवनमा सबै प्रेम सफल नै हुन्छन् भन्ने छैन। धेरै प्रेमहरू गन्तव्यसम्म पुग्छन्, धेरै बाटोमै छुट्छन्। तर प्रेम सफल होस् वा असफल, त्यसले सिकाउने पाठ कहिल्यै व्यर्थ हुँदैन। कहिलेकाहीँ असफल प्रेमले सफल प्रेमभन्दा पनि धेरै गहिरो अनुभूति, परिपक्व सोच, धैर्य र जीवन बुझ्ने दृष्टि दिन्छ। त्यसैले प्रेमी वा प्रेमिका केवल जीवनसाथी मात्र होइन, जीवनका उत्कृष्ट गुरु पनि बन्न सक्छन्। किनभने उनीहरूले सिकाएका पाठहरू कुनै विद्यालय, विश्वविद्यालय वा पुस्तकमा भेटिँदैन।

केवल अनुभूतिको संसारमा पढ्न सकिन्छ।
हिन्दू दर्शनले पनि सम्बन्धको महत्त्वलाई सुन्दर रूपमा प्रस्तुत गरेको छ। पार्वतीबिना शिवको कथा अधुरो देखिन्छ, लक्ष्मीबिना विष्णुको ऐश्वर्य अपूरो लाग्छ, राधाबिना कृष्णको प्रेम अमर हुँदैन, सीताबिना रामको आदर्श पूर्ण देखिँदैन। यी उदाहरणहरूको सार कसैको अस्तित्व अर्कोमा मात्र निर्भर छ भन्ने होइन । यसको अर्थ प्रेम, सम्मान, विश्वास, त्याग र सहयात्राले जीवनलाई अझ अर्थपूर्ण बनाउन गुरुको महत्त्वपूर्ण भुमिका रहन्छ भन्ने हो। जब सम्बन्धमा सम्मान हुन्छ, तब प्रेम पवित्र बन्छ। जब विश्वास हुन्छ, तब सम्बन्ध बलियो बन्छ।र जब सिक्ने विनम्रता हुन्छ, तब जीवन सुन्दर बन्छ।
जीवन वास्तवमा एकअर्कालाई जित्ने यात्रा होइन, एकअर्काबाट सिक्ने यात्रा हो। कहिले पुरुष महिलाको गुरु बन्छ, कहिले महिला पुरुषको। कहिले एउटा मुस्कानले जीवनभरको प्रेरणा दिन्छ, कहिले एउटा आँसुले सम्पूर्ण जीवनको पाठ सिकाउँछ। कहिले साथले सिकाउँछ, कहिले बिछोडले। कहिले शब्दहरूले परिवर्तन ल्याउँछन्, कहिले मौनताले। अन्ततः प्रेम अधिकार होइन, जिम्मेवारी हो।सम्बन्ध बन्धन होइन, परिपक्वताको विद्यालय हो।

सायद यही कारणले प्रेमलाई केवल भावना भन्न मिल्दैन। प्रेम त जीवनको एउटा विद्यालय हो, जहाँ हरेक भेट एउटा नयाँ पाठ हुन्छ, हरेक बिछोड एउटा कठिन परीक्षा हुन्छ, हरेक प्रतीक्षा धैर्यको अभ्यास हुन्छ, हरेक सम्झना एउटा अमूल्य अनुभव बन्छ, र हरेक क्षमाले मानिसलाई अझ ठूलो बनाउँछ। यस विद्यालयका पाठहरू कुनै पुस्तकका पानामा लेखिएका हुँदैनन्। ती हृदयमा लेखिएका हुन्छन्। त्यही हृदयको विद्यालयमा तिमीले मलाई धेरै कुरा सिकायौ।कसैलाई साँचो मनले सम्मान गर्न, निस्वार्थ रूपमा माया गर्न, हारमा पनि आशा देख्न, पीडामा पनि मुस्कुराउन, र सबैभन्दा महत्त्वपूर्ण, आफूलाई पनि माया गर्न।

गुरु पूर्णिमाको वास्तविक अर्थ यही हो कि हामी आफ्नो जीवनलाई उज्यालो बनाउने प्रत्येक गुरुको सम्मान गरौँ। गुरु केवल कक्षाकोठामा सीमित हुँदैनन्। जीवनमा हामीलाई सही बाटो देखाउने, गल्तीबाट सिकाउने, असफलतामा उठ्न हौसला दिने, सफलतामा विनम्र रहन सिकाउने, प्रेममा परिपक्व बन्न सिकाउने, र आत्मसम्मानको मूल्य बुझाउने प्रत्येक व्यक्ति हाम्रो गुरु हो।

अन्त्यमा यति मात्र भन्न चाहन्छु।जीवनमा सबैभन्दा मूल्यवान् गुरु त्यो हुँदैन, जसले केवल किताबका अक्षर पढाउँछ।बरु त्यो हुन्छ, जसले अनुभूतिका अक्षरहरू पढ्न सिकाउँछ। प्रेमले यदि मिलन दियो भने जीवन सजिन्छ, बिछोड दियो भने जीवन बुझिन्छ। सफल होस् वा असफल, प्रत्येक साँचो प्रेमले आफ्नो पछाडि एउटा अमूल्य शिक्षा छोडेर जान्छ।

आज गुरु पूर्णिमाको यस पावन अवसरमा मेरा जीवनलाई कुनै न कुनै रूपमा दिशा दिने सम्पूर्ण गुरुहरू आमा–बुबा, शिक्षक–शिक्षिका, अग्रज, साथीभाइ, समाज, समय, संघर्ष, सफलता, असफलता र विशेष गरी प्रेमको अर्थ, धैर्यको शक्ति, मौनताको भाषा, विश्वासको गरिमा र आत्मसम्मानको मूल्य सिकाउने सबै प्रति पनि हार्दिक श्रद्धा व्यक्त गर्दछु।
गुरु पूर्णिमाको हार्दिक शुभकामना!
जीवनमा भेटिने प्रत्येक सच्चा सम्बन्धलाई सम्मान गरौँ, किनकि सबैभन्दा महान् गुरु कहिलेकाहीँ त्यो हुन्छ, जसले कुनै पाठ्यपुस्तक नखोली हाम्रो जीवनकै पुस्तक पढ्न र बुझ्न सिकाइदिन्छ।

Advertisement

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article