समाचार
जनक राजवंशी २ घण्टा अगाडि

भद्रपुरमा नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशन, मेची रङ्गशालामा दुई करोडको भव्य तयारी

भद्रपुर, साउन १३ — नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशन तथा साधारणसभा आगामी पुस ८ देखि १० गतेसम्म झापाको भद्रपुरस्थित मेची रङ्गशालामा आयोजना हुने भएको छ। महाधिवेशनको तयारीलाई औपचारिक रूपमा अघि बढाउँदै बुधबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रमको आधिकारिक लोगो सार्वजनिक गरिएको हो।

Advertisement


आयोजक नेपाल जेसीज भद्रपुरका अनुसार करिब दुई करोड रुपैयाँ लागतमा सम्पन्न हुने महाधिवेशनमा देशभरका झण्डै २०० शाखाका १ हजार ६ सयभन्दा बढी प्रतिनिधि, पर्यवेक्षक तथा अतिथि सहभागी हुने अपेक्षा गरिएको छ। महाधिवेशनले नयाँ राष्ट्रिय नेतृत्व चयन गर्नुका साथै संगठनका भावी नीति, कार्यक्रम र योजनाबारे महत्वपूर्ण निर्णय गर्नेछ। यसका अतिरिक्त प्रशिक्षण, सम्मान, बन्दसत्र तथा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुनेछन्।

Advertisement


महाधिवेशन प्रचार–प्रसार समितिका संयोजक अभिषेक ढुङ्गानाले भद्रपुरमा हुन लागेको महाधिवेशनलाई नेपाल जेसीजको इतिहासकै व्यवस्थित र स्मरणीय बनाउने लक्ष्यका साथ तयारी भइरहेको बताउनुभयो। महाधिवेशन निर्देशक बसन्त पोखरेलले कार्यक्रम सफल बनाउन सरकारी निकाय, निजी क्षेत्र, सञ्चारमाध्यम र स्थानीय समुदायको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो। त्यसैगरी भद्रपुर जेसीज वर्ष २०२६ का महासचिव सुरज श्रेष्ठले महाधिवेशनले भद्रपुरलाई राष्ट्रिय स्तरमा चिनाउने अवसर भएकाले सम्पूर्ण जेसीज परिवार र स्थानीय समुदायको सक्रिय सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो।


पत्रकार सम्मेलनमा भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की, युवा अभियन्ता दीपक पोखरेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। सोही अवसरमा अभियन्ता दीपक पोखरेलले नेपाल पत्रकार महासंघ झापा शाखाको भद्रपुर सभाहलका लागि चार टन क्षमताको एसी सहयोग गर्ने घोषणा गर्नुभयो।
महाधिवेशनले भद्रपुरको पर्यटन, होटल व्यवसाय, व्यापार तथा स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा चलायमान बनाउने अपेक्षा गरिएको आयोजकको विश्वास छ।

Advertisement

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article