नेपाल जेसीजको आयोजना तथा भद्रपुर जेसीजको आतिथ्यमा आगामी पुस ८, ९ र १० गते सञ्चालन हुन गइरहेको ५३ औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा स्थलगत अनुगमन, सल्लाह, सुझाव तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। भद्रपुर जेसीजका अध्यक्ष जेसी सुरेन्द्र कुमार खड्काको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर जीवन कार्कीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा भद्रपुर जुनियर जेसीजका अध्यक्ष जुनियर जेसी प्रतीक लम्सालसहित जुनियर बोर्ड र भद्रपुर जेसीजका सम्पूर्ण पदाधिकारीहरूको उत्साहजनक उपस्थिति रहेको थियो। त्यसैगरी भद्रपुर जेसीजका पूर्वअध्यक्षहरू क्रमशः जेसी लोकनाथ भट्टराई, रमेश पोखरेल, विजय अधिकारी, भरत प्रसाईं, डिल्लीराम पोखरेल, खिलनाथ पाण्डे, मनोज भट्टराई र युवराज न्यौपानेको समेत विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमका अध्यक्ष सुरेन्द्र कुमार खड्काले महाधिवेशनको आयोजना, तयारीको अवस्था र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो। भद्रपुर जेसीजका महासचिव जेसी सुरज श्रेष्ठले जेसीज आस्था वाचन गर्नुभएको सो कार्यक्रमको कुशल सञ्चालन भद्रपुर जेसीजका पूर्वअध्यक्ष जेसी युवराज न्यौपानेले गर्नुभएको थियो। राष्ट्रिय महाधिवेशनलाई सभ्य र भव्य रूपमा सम्पन्न गर्नका लागि उपस्थित सम्पूर्ण पूर्वअध्यक्षहरू तथा पदाधिकारीहरूले आ-आफ्नो तर्फबाट रचनात्मक सुझाव र मार्गदर्शन प्रदान गर्नुभएको छ।