समाचार
हल्दिबारी संवाददाता ६ घण्टा अगाडि

नेपाली कांग्रेसको पदाधिकारी बैठक आह्वान, गगनमाथि निगरानी बढाएको भन्दै आपत्ति

काठमाडौँ । नेपाली कांग्रेसले समसामयिक राजनीतिक घटनाक्रम र पदाधिकारीको कार्यविभाजनबारे छलफल गर्न नवनिर्वाचित पदाधिकारीहरूको अनौपचारिक बैठक आह्वान गरेको छ । बिहीबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको हो ।

​पार्टी कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार काठमाडौँमा उपलब्ध पदाधिकारीहरूलाई छलफलका लागि बोलाइएको हो । उपसभापति मधु आचार्यले पदाधिकारीको जिम्मेवारी बाँडफाँट र पछिल्लो राजनीतिक परिस्थिति नै बैठकको मुख्य एजेन्डा रहेको जानकारी दिए । गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न १५औँ महाधिवेशनबाट नयाँ कार्यसमिति निर्वाचित भए पनि पदाधिकारीहरूको कार्यविभाजन अझै हुन सकेको छैन ।

​यसैबीच, नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गरिएसँगै कांग्रेस सभापति गगन थापामाथि सरकारले निगरानी बढाएको चर्चा सुरु भएको छ ।

​प्रहरी हिरासतमा रहेका इनम सापकोटाले कांग्रेसको आधिकारिकतासम्बन्धी विषयमा दिएको बयान प्रधानमन्त्री शाहको सचिवालयको योजनामा सार्वजनिक गरिएको भन्दै कांग्रेस वृत्त रुष्ट बनेको छ । यस घटनालाई लिएर कांग्रेस सरकारप्रति थप आक्रामक देखिएको छ ।

​यसअघि प्रधानमन्त्री शाहले आइतबार साँझ सामाजिक सञ्जालमा ‘सही समय आएपछि सबैको गलत समय आउँछ, एक-दुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ’ भन्दै चेतावनीपूर्ण अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिको प्रतिवाद गर्दै कांग्रेस सभापति थापाले सोमबार साँझ ‘अहिले ठिक १८:०० बजेको छ, तर्साउने धेरै आए, तर्सिने बानी परेन’ भन्दै जवाफ फर्काएका थिए ।

​प्रधानमन्त्री र मुख्य विपक्षी दलका सभापतिबीच सामाजिक सञ्जालमै दोहोरी चलेपछि राजनीतिक वृत्त गर्माएको छ । यही तिक्ततापूर्ण पृष्ठभूमिमा बस्न लागेको कांग्रेस पदाधिकारी बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)