झापा । नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) र नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीबिच काठमाडौँस्थित सिंहदरबारमा विशेष भेटवार्ता भएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुई दिने औपचारिक भ्रमणका लागि काठमाडौँ पुगेका विदेश सचिव मिस्रीले बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगी प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका हुन् ।
भेटका क्रममा दुई देशबिचको सदियौँ पुरानो सम्बन्धलाई थप सुदृढ बनाउने, ऊर्जा, व्यापार, पूर्वाधार विकास तथा कनेक्टिभिटीजस्ता महत्त्वपूर्ण क्षेत्रमा सहकार्य बढाउने विषयमा सकारात्मक कुराकानी भएको छ ।
प्रधानमन्त्रीको भारत भ्रमण र एजेन्डाबारे छलफल
भेटका क्रममा विदेश सचिव मिस्रीले भारतीय सरकारका तर्फबाट प्रधानमन्त्री बालेन शाहलाई भारतमा स्वागत गर्न आतुर रहेको सन्देश हस्तान्तरण गरे । दुवै पक्षबिचको आपसी समझदारीमा चाँडै भ्रमणको औपचारिक मिति तय हुने विश्वास उनले व्यक्त गरे । प्रधानमन्त्री शाहको आगामी मङ्सिर ६ गतेदेखि भारत भ्रमण गर्ने प्रस्तावित मिति रहे पनि औपचारिक घोषणा भने मिस्री स्वदेश फर्केपछि दुवै देशको कूटनीतिक निकायमार्फत गरिने बताइएको छ ।
भेटमा भ्रमणका क्रममा अघि सारिने मुख्य एजेन्डा तथा द्विपक्षीय आयोजनाहरूबारे प्रारम्भिक छलफल भएको छ ।
भोटेकोशी बाढीपछिको विपत्तिमा भारतको सहयोगको प्रतिबद्धता
नेपालमा हालै भोटेकोशी नदीमा आएको बाढीले पुर्याएको क्षतिप्रति विदेश सचिव मिस्रीले गहिरो दुःख व्यक्त गरे । विपत्तिको यस घडीमा भारत सधैँ नेपालको साथमा रहेको बताउँदै उनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि भारत सरकार पूर्ण सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए । नेपालको विकास, समृद्धि र आपसी हितका क्षेत्रमा भारतको निरन्तर सहयोग रहने धारणा उनले राखे ।
अन्य मन्त्रीहरूसँग पनि आयोजनागत छलफल
विदेश सचिव मिस्रीले आफ्नो दुई दिने भ्रमणका क्रममा नेपालका प्रमुख मन्त्रीहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । उनले बुधबार परराष्ट्रमन्त्री शिशिर खनाल, अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र परराष्ट्र सचिव अमृतबहादुर राईसँग द्विपक्षीय हित र विकास आयोजनाहरूबारे विस्तृत छलफल गरेका थिए ।
यी भेटवार्तामा तय भएका महत्त्वपूर्ण आयोजनाहरूलाई प्रधानमन्त्री शाहको आगामी भारत भ्रमणको मुख्य एजेन्डा बनाइने सम्भावना छ । उच्चस्तरीय छलफल पश्चात् भारतीय विदेश सचिव मिस्री बिहीबार नै नयाँ दिल्लीतर्फ प्रस्थान गरेका छन् ।
