समाचार
हल्दिबारी संवाददाता ५९ मिनेट अगाडि

झापाको सीमा क्षेत्रमा सशस्त्रको कडा निगरानी: लाखौँको पटाका नष्ट, तस्करीमा संलग्नहरूको भागदौड

झापा । जिल्लाको दक्षिणी सीमा क्षेत्रमा प्रहरी प्रशासनको मिलेमतोमा तस्करी मौलाएको भन्दै समाचार प्रकाशित भएपछि सशस्त्र प्रहरीले आफ्नो सक्रियता र अनुगमनलाई तीव्रता दिएको छ। हल्दीबारी डटकमलगायतका सञ्चार माध्यमहरूमा समाचार आएलगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेडक्वार्टर झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सचिन कर्माचार्यले मातहतका निकायमा कडा अनुगमन तथा निगरानी बढाएका हुन्।

​गणपति कर्माचार्य आफैँ अग्रसर भई फिल्डमा उत्रिएर सीमा क्षेत्रमा कडाइ गरेपछि अवैध चोरी निकासी र तस्करीमा संलग्नहरूको भागदौड मच्चिएको छ। तस्करहरूको गतिविधिमाथि रोक लगाउन सशस्त्र प्रहरी आक्रामक रूपमा मैदानमा उत्रिएसँगै अवैधरूपमा भित्रिने सामग्रीहरू नियन्त्रणमा लिने क्रम बढेको छ।

​यसै क्रममा तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्राइएको ठूलो परिमाणको बारुदजन्य पटाका सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ गण हेडक्वार्टर झापाले विभिन्न समयमा र स्थानमा चलाएको चेकजाँचका क्रममा बरामद गरिएको करिब २३ लाख ५९ हजार रुपैयाँ बराबरको उक्त पटाका शुक्रबार दिउँसो गण परिसरभित्रै नष्ट गरिएको छ।

​उक्त पटाका सशस्त्र प्रहरी उपरीक्षक सचिन कर्माचार्य, भद्रपुर नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मनोज सुब्बा, जिल्ला प्रशासन कार्यालय तथा जिल्ला प्रहरी कार्यालय झापाका प्रतिनिधि र सञ्चारकर्मीहरूको उपस्थितिमा खाडल खनेर नष्ट गरिएको हो। चाडपर्वका बेला पटाका तथा आतसबाजीको प्रयोगले आगलागी, मानवीय दुर्घटना, धनजनको क्षति, ध्वनि प्रदूषण र वातावरणीय प्रदूषण निम्त्याउने भएकाले यस्ता प्रज्वलनशील वस्तुको ओसारपसार र बिक्रीवितरणमा पूर्ण रोक लगाउन कडा अभियान चालिएको प्रहरीले जनाएको छ।

​बारुदजन्य सामग्रीको अनियन्त्रित प्रयोगले बालबालिका, ज्येष्ठ नागरिक तथा सर्वसाधारणको स्वास्थ्य र सुरक्षामा गम्भीर असर पार्ने भएकाले यस्ता सामग्री प्रयोग नगर्न सशस्त्र प्रहरीले सर्वसाधारणमा समेत विशेष आग्रह गरेको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)