झापा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलको निर्देशनपछि भूमि समस्या समाधान समिति झापाले सुकुम्बासी समस्या समाधानको कामलाई तीव्र बनाएको छ। समितिको आज बसेको बैठकले तीन वटा स्थानीय तहका कुल २ हजार ३ सय ३९ परिवारको नामावली स्वीकृत गर्दै सार्वजनिक सूचना जारी गरेको छ।
कार्तिक मसान्तभित्रै लाभग्राहीलाई लालपुर्जा वितरण गर्ने लक्ष्यसहित नामावली सार्वजनिक गरिएको समितिले जनाएको छ। एकैपटक यति ठूलो संख्यामा भूमिहीनलाई पुर्जा वितरण गर्न लागिएको सम्भवतः झापाको इतिहासमै पहिलो पटक भएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्रवणकुमार पोखरेलले बताए।
सार्वजनिक नामावली अनुसार पहिलो चरणमा बुद्धशान्ति गाउँपालिकाका १ हजार ३ सय ६४ परिवार, अर्जुनधारा नगरपालिकाका ९ सय ६४ परिवार र मेचीनगर नगरपालिकाका ११ परिवार रहेका छन्।
झापामा भूमिहीन दलिततर्फ २ हजार ८ सय ९६, भूमिहीन सुकुम्बातीतर्फ १५ हजार ७ सय ८३ र अव्यवस्थित बसोबासीतर्फ ४१ हजार ८ सय ५१ गरी कुल ६० हजार ५ सय ७० परिवारले जग्गा प्राप्तिका लागि आवेदन दिएका छन्। यसबाहेक अघिल्ला आयोगहरूबाट अधुरो र अपुरो अवस्थामा रहेका आवेदक परिवारको संख्या ५ हजार २ सय ९६ रहेको छ।
केही दिनअघि जिल्ला भ्रमणका क्रममा मन्त्री प्रतिभा रावलले तत्काल लालपुर्जा वितरणको काम अघि बढाउन प्रजिअ पोखरेललाई निर्देशन दिएकी थिइन्। मन्त्रीको निर्देशनलगत्तै प्रजिअ पोखरेलले थप जनशक्ति परिचालन गरी प्रक्रियालाई द्रुत गति दिएका छन्।
प्रजिअ पोखरेलको अनुरोधमा मन्त्री रावलले तत्कालै प्रशासन सेवातर्फका दुई र प्राविधिकतर्फका दुई जना कर्मचारीलाई प्रजिअको प्रत्यक्ष निर्देशन र नियन्त्रणमा काम गर्ने गरी खटाएकी थिइन्।
स्थानीय तहहरूबाट थप नामावली प्रमाणीकरण भई प्राप्त हुनासाथ छानबिन गरी दोस्रो चरणको सूचना प्रकाशित गरिने भूमि समस्या समाधान समिति झापाले जनाएको छ।
