समाचार
हल्दिबारी संवाददाता १६ मिनेट अगाडि

चाडपर्वको बहार : दशैँदेखि छठसम्म

पर्वहरू हाम्रो आत्मा हुन्,

जुनले भोलिको बाटो देखाउँछन्,

उज्यालो दीपझैँ, सम्बन्धको अमरता जनाउँछन्।

​नेपाल बहुजाति, बहुभाषा र बहुधर्मीय देश हो। यहाँको सामाजिक जीवन चाडपर्वले अझ रंगिन बनाउँछ। असोजदेखि कार्तिकसम्म आउने प्रमुख चाडहरू—दशैँ, तिहार, नेपाल संवत् (शंखधर साख्वा स्मृति) र छठ पर्व—नेपाली समाजको धार्मिक, सांस्कृतिक र सामाजिक विविधताका जीवन्त अभिव्यक्ति हुन्।

​१. दशैँ : शक्ति र श्रद्धाको संगम

​नवरात्रको पहिलो दिन घटस्थापनाबाट सुरु हुने दशैँमा शक्तिरुपी देवी दुर्गाको पूजा हुन्छ। नवरात्रभरि जमरा राख्ने, दुर्गाभवानीको आराधना गर्ने र नवमीमा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ।

​विजयादशमीका दिन आशीर्वादसहित टीका र जमरा लगाउने चलनले परिवार र समाजलाई एकसूत्रमा बाँध्छ। यो पर्वले अन्यायमाथि न्याय, असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयको सन्देश दिन्छ।

​”देवीको शक्तिले हटोस् दुःख सबै,

असत्य टुटोस्, सत्यको जित होस् अबै।”

​२. तिहार : उज्यालो र प्रेमको पर्व

​धनतेरसदेखि भाइटीकासम्म पाँच दिन तिहार मनाइन्छ। काग, कुकुर, गाई, गोवर्धन र दाजुभाइ-दिदीबहिनीको सम्बन्धलाई पूजा गर्ने परम्पराले प्रकृति, प्राणी र परिवार सबैसँगको सन्तुलनको प्रतीक दिन्छ। दीपावलीमा घरघर उज्यालोले झिलिमिली हुन्छ, जसले अन्धकारमाथि प्रकाशको विजय दर्शाउँछ। देउसी-भैलीले सामुदायिक एकता र उत्सवको रमाइलो बढाउँछ।

​”दियोको उज्यालो जस्तो मन पनि चम्कोस्,

दाजुभाइ-दिदीबहिनीबीच सद्भाव नमस्कोस्।”

​३. नेपाल संवत् : शंखधर साख्वाको योगदान

​तिहारपछि आउने अर्को विशेष अवसर हो नेपाल संवत्। यस संवत्को सुरुवात महाजन शंखधर साख्वाले जनताको ऋणमुक्त गराई नयाँ वर्षको थालनी गरेपछि भएको हो। नेपाल संवत्ले आर्थिक न्याय, सामाजिक समानता र सांस्कृतिक पहिचानको मूल्य बोकेको छ। आज यसलाई राष्ट्रिय संवत्को मान्यता प्राप्त छ, जुन नेपाली समाजको गौरवको विषय हो।

​४. छठ पर्व : सूर्य आराधनाको अनुष्ठान

​तिहारपछि छठ पर्व आउँछ, जुन मुख्यतः तराईमा धुमधामका साथ मनाइन्छ र अहिले देशभर फैलिएको छ। नहाय-खाय, खरना, सन्ध्या अर्घ्य र उषाकालीन अर्घ्य गरी चार दिन मनाइने यस पर्वमा सूर्य भगवान् र छठी माताको पूजा गरिन्छ। जलाशयका किनारमा उपवासी भक्तजनले अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन्। यस पर्वले कृतज्ञता, शुद्धता र प्रकृतिप्रतिको आस्था प्रकट गर्छ।

​”सूर्य उदाउँछ, जीवन चम्किन्छ,

छठी मैयाको कृपा मनमा बस्छ।”

​दशैँको शक्ति, तिहारको उज्यालो, नेपाल संवत्को न्याय र छठको कृतज्ञता—यी सबै चाडपर्व नेपाली समाजका आत्मा हुन्। फरक-फरक संस्कार र परम्पराले भरिएका यी चाडहरूले हामीलाई एकताको सूत्रमा बाँध्ने साझा संस्कृति प्रदान गरेका छन्।

​”फूलजस्तै विविध, मालाजस्तै एक,

यही हो हाम्रो संस्कृति, यही हो हाम्रो नेक।”

​✍️ नारायणबहादुर बस्नेत

मेचीनगर-८, झापा

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)