समाचार
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दीबारीका २२ जना प्रतिनिधिहरुले गाउँ सभाको बैठक बोलाउन अध्यक्षलाई बुझाए ज्ञापनपत्र

हल्दीबारी गाउँपालिकाको सातौं गाउँ सभा अधिवेशनको पहिलो बैठकले पारित गरेको बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयक यथाशीघ्र प्रमाणिकरण गर्न श्रावण-१२ गते हल्दीबारी गाउँपालिकाका २२ जना जनप्रतिनिधिहरुले गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनलाई संयुक्त रुपमा लिखित निवेदन बुझाएका छन् ।
गाउँपालिकाको आर्थिक विधेयक र विनियोजन विधेयक यथाशीघ्र प्रमाणीकरण गरी गाउँपालिकालाई अनिर्णयको बन्दी बनाई नराख्न अनुरोध गर्दै १ नम्बर प्रदेश सरकारद्वारा पारित गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऐन, २०७५ को दफा ३ को उपदफा (४) ले दिएको अधिकार प्रयोग गरी नेकपा र नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको तर्फबाट संयुक्त रुपमा लिखित अनुरोध गरेको गाउँपालिकाका प्रवक्ता सागर पोर्तेलले जानकारी दिए ।
गत असार-१० गते सातौं गाउँ सभा अधिवेशनको पहिलो बैठक सौहार्दपूर्ण वातावरणमा चलिरहेको बेला बाहिर भेला भएका व्यक्तिहरुबाट तोडफोड हुँदा गाउँपालिका अध्यक्षले सभा बहिस्कार गरेर निस्किएका थिए भने जम्मा २९ जना जनप्रतिनिधि भएको गाउँ सभामा २२ गाउँ सभा र नगर सभा संचालन कार्यविधि ऐन, २०७५ को दफा १६ को उपदफा (५) वमोजिम गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा सभालाई निरन्तर संचालन गरी बजेट, नीति तथा कार्यक्रम पारित गरेका थिए।
पहिलो गाउँ सभा बैठकले गरेको निर्णयको विवाद सम्बन्धमा दोस्रो बैठक बोलाएर छलफल गरी समस्याको समाधान खोज्न लिखित अनुरोध गरेको वडा नम्बर १ का वडा अध्यक्ष त्रिलोचन सापकोटाले बताए ।
गाउँपालिकाको आर्थिक विधेयक र विनियोजन विधेयक हालसम्म पनि प्रमाणिकरण नभएको कारणले सर्वसाधारण आम जनताहरुको कामकाज ठप्प भई जनताहरुलाई सास्ती भएकोले गाउँ सभाको समस्याको समाधान गाउँ सभाकै बैठकबाट खोज्नु पर्ने वडा नम्बर २ का वडा अध्यक्ष राजेन्द्र योङहाङले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article