समाचार
हल्दिबारी संवाददाता २ घण्टा अगाडि

नशालु पदार्थ खुवाएर लुटपाट गर्ने गिरोह प्रहरीको फन्दामा, सुन किन्नेहरू पनि पक्राउ

काभ्रेपलाञ्चोक । सर्वसाधारणलाई ललाईफकाई जुस (फ्रुटी) तथा दूधमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएर शृङ्खलाबद्ध लुटपाट गर्ने गिरोहका चार जनालाई काभ्रे प्रहरीले पक्राउ गरेको छ। विभिन्न मितिमा लुटपाट गरी फरार रहेका अभियुक्तहरूलाई इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान पश्चात अभियोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय काभ्रेमा पेश गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा लुटपाटमा प्रत्यक्ष संलग्न मुख्य अभियुक्तहरू ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–९ घर भई हाल बनेपा नगरपालिका–५ बस्ने छत्र बहादुर कार्कीकी श्रीमती ५० वर्षीया संगीता तामाङ (कार्की) र काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–१ बस्ने ईन्द्र बहादुर तामाङका छोरा ३८ वर्षीय विरध्वज तामाङ रहेका छन्। मुख्य अभियुक्त संगीतालाई प्रहरीले गत कात्तिक १५ गते बनेपाको चारदोबाटोबाट पक्राउ गरेको हो भने विरध्वजलाई प्रहरी वृत्त बौद्धबाट चोरी मुद्दामा धरौटीमा छुटे लगत्तै कात्तिक ३ गते इलाका प्रहरी कार्यालय बनेपामा दाखिला गरिएको थियो।

यसैगरी, लुटपाट गरिएका सुनका गरगहना खरिद गरेको आरोपमा प्रहरीले थप दुई जनालाई मंसिर ६ गते पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दोलखा बिगु गाउँपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–४ बस्ने अमर बहादुर वि.क.का छोरा ४६ वर्षीय नवराज घिमिरे वि.क. र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–१ घर भई हाल बनेपा नगरपालिका–७ बस्ने प्रकाश सुनुवारका छोरा ३२ वर्षीय प्रविन सुनुवार रहेका छन्। नवराजलाई भक्तपुरबाट र प्रविनलाई काभ्रेको साँगा (खावा/खड्पु) क्षेत्रबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीको अनुसन्धानबाट उक्त समूहले मिति २०८३ भदौ १० गते बनेपा नगरपालिका–४ स्थित एक वृद्ध दम्पतीको घरमै पुगेर लुटपाट गरेको खुलेको छ। खानीखोला गाउँपालिका–४ स्थायी घर भई बनेपा–४ बस्ने ७० वर्षीया हिरामाया जिम्बा र उनका श्रीमान् ७४ वर्षीय हस्त बहादुर जिम्बालाई अभियुक्तहरूले दूधमा नशालु पदार्थ मिसाएर खान दिएका थिए। दूध पिएर दुवै जना बेहोस भएपछि उनीहरूले हिरामायाले कानमा लगाएको दुई थान सुनको रिङ र एक थान सुनको तिलहरी लुटपाट गरी फरार भएका थिए।

त्यसैगरी, सोही गिरोहले गत असोज २४ गते बनेपा नगरपालिका–९ मा अर्को ठूलो लुटपाट मच्चाएको थियो। सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–४ बस्ने ५४ वर्षीय गंगा बहादुर गुरुङलाई फकाईफुलाई गरी फ्रुटीमा नशालु पदार्थ मिसाएर खुवाई बेहोस बनाएर अभियुक्तहरूले उनको साथमा रहेको नगद ४० हजार रुपैयाँ ४ थान राडी (कपडा) लुटपाट गरी फरार भएका थिए। नशालु पदार्थको असरले गम्भीर बिरामी परेका गुरुङको बनेपास्थित शिर मेमोरियल अस्पतालको आईसीयूमा चार दिनसम्म उपचार भएपछि स्वास्थ्यमा सुधार आई डिस्चार्ज भएका थिए।

पक्राउ परेका चारै जनामाथि मुलुकी अपराध संहिता बमोजिम चोरी तथा डाँका सम्बन्धी कसुरमा थप कानुनी कारबाही अघि बढाइएको प्रहरी कार्यालय बनेपाले जानकारी दिएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)